जन प्रभाब / २०७७ बैशाख २५ गते.
काठमाडौं । नागढुंगा नाकामा प्रहरीले थप कडाई गरेको छ । लकडाउनको समयमा अनावश्यक हिड्डुल गर्ने, सवारी पासको दुरुपयोग गर्ने, स्थानीय तहको सिफारिस बनाई सवारी साधन चलाएको भेटिएपछि नाकाहरूमा थप कडाइ गरिएको हो ।
आज मात्रै पनि विभिन्न जिल्लाबाट नागढुंगा नाका आइपुगेका मोटरसाइकलसहितका ५४ वटा सवारी साधनलाई प्रहरीले फर्काइदिएको छ ।सवारी पास भएपनि विना समन्वय र अत्यावश्यक कामविना आएका उनीहरुलाई फर्काइदिएको प्रहरीले जनाएको छ ।
गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले प्रहरीले नागढुंगामा चेकजाँचमा कडाइ गरेको पाइएको बताए ।
बुधबार निरीक्षणका क्रममा नागढुंगा पुगेका उनले भने, ‘अत्यावश्यक बाहेकका सवारीसाधनको आवतजावतलाई पूर्ण रुपमा निषेध गर्ने गृह मन्त्रालयको नीति छ । त्यसअनुसार फिल्डमा पनि कार्यान्वयन भइरहेको पाएका छौं ।’
अधिकारीका अनुसार अत्यावश्यक अवस्थाका लागि पास चाहिए जिल्लाको प्रशासनसँग पनि समन्वय गर्न भनिएको छ । उनका अनुसार गृहको निर्देशनपछि नाकामा सवारीसाधन र व्यक्तिको ‘मुभमेन्ट’ पातलिएको छ ।
यद्यपि, एम्बुलेन्समा पनि विरामी नभएका व्यक्तिलाई हालेर ल्याउने गरेको पाइएको उनले बताए । अधिकारीले भने, ‘त्यस्ता व्यक्तिलाई प्रचलित ऐनअनुसार कडा कारबाही हुन्छ ।’
नागढुंगा नाकाको अनुगमनका लागि अधिकारीसहित उपत्यका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले लकडाउन पुनः पालना गराउन थप कडाइका साथ काम भइरहेको बताए ।
उनले राजधानी भित्रने सवारी साधनहरूलाई कडा निगरानीका साथ हेरिरहेको बताउदै अनावश्यक सवारी साधनको मोविलिटीलाई पुनः रूपमा निषेध गरिदै आएको उनको भनाइ छ ।
निरीक्षणमा सशस्त्र प्रहरीको उपत्यका प्रमुख डीआईजी चन्द्रप्रसाद गौतम, काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, राष्ट्रिय अनुसन्धान विभागका अधिकृतलगायत नागढुंगा पुगेका थिए ।

















