जन प्रभाब-सम्बादाता
काठमाडौं , बैशाख १७ गते ।वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापापछि रोलक्रम अनुसार प्रधानसेनापतिको दाबेदार मानिएका उपरथी प्रभुराम शर्माको रथीमा बढुवा भएकाे छ । मन्त्रीपरिषद् बैंठकको वैशाख १४ गतेको निर्णय अनुसार शर्मालाई उपरथीबाट रथीमा बढुवा गरिएको हो।सैनिक ऐन अनुसार प्रधानसेनापति थापाको सिफारिसमा शर्माको बढुवाको लागि सरकार समक्ष पेस गरिएको थियो ।
हालका बलाध्यक्षरथी गौरव टण्डुल उमेर हदका कारण यही वैशाख १९ मा अवकास लिँदैछन् । उनैको ठाउँमा सैनिक मुख्यालयले उपरथी शर्माको नाम सिफारीस गरेको थियो ।शर्मा रथीमा बढुवा भएसँगै प्रधानसेनापति पूर्णचन्द्र थापाको अवकासपछि प्रधानसेनापति बन्नेछन्। हालका प्रधानसेनापति थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसँगै शर्मा उनको ठाउँमा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन्।
नेपाली सेनाको युद्धकार्य महानिर्देशकको समेत जिम्मेवारी सम्हालिसकेका उपरथी शर्मा हाल सम्भाररथी विभागको प्रमुख छन् ।सेनामा व्यवसायिक सैनिक अधिकृतको छवि बनाएका शर्माले भारतबाट ‘नेशनल डिफेन्स कोर्स’ (एनडिसी) गरेका छन्।शर्माको रथीको दुई वर्षे पदावधी २०७८ पुष सम्म कायम रहनेछ।हालका प्रधानसेनापति थापा शर्माभन्दा ४ महिनाअघि नै अनिवार्य अवकासमा जाने भएपछि शर्मालाई सेनापति बन्न कुनै समस्या हुनेछैन ।सेनामा दुई जना रथीको दरबन्दी रहेको छ । अर्का रथी शरद गिरीले पनि आगामी असार ०६ गते अनिवार्य अवकास पाउनेछन् ।
श्री पूरानो गोरख गणका गणपति समेत रहेका शर्माले नम्बर ६ बाहिनी अड्डा बैरेनी तथा मध्य पृतना हेडक्वाटर सुपारिटार ब्यारेक हेटौँडा कमाण्ड गरिसकेका छन् ।नेपाली सेनामा स्वच्छ छवि बनाएका शर्मा कंगोमा शान्ति सेना मिसनको कमाण्ड सफलतापूर्वक सम्हालिसकेका अधिकृत हुन् ।हाल कोरोनाको महामारीबाट बच्न सावधानीस्वरुप सरकारले खरिपाटीमा निर्माण गरेको क्वारेन्टाईनमा सुरक्षादेखि सरसफाइसम्मका पूर्वाधार व्यवस्थापनमा पनि उनैको नेतृत्वमा नेपाली सेना खटेको थियो ।स्वच्छ छवी, ईमान्दार, सरल व्यक्तित्वका अधिकृतको परिचय बनाएका शर्माका दुई छोरी र एक श्रीमती छन् । उनको स्थायी घर धादिङ हो ।

















