जन प्रभाब-आलोक यादव / २०७७ बैशाख १५ गते .
जनकपुर । प्रदेश नम्बर-२ का जिल्ला पर्साको विभिन्न नाकाबाट लकडाउनका बेला पनि छोकडा तस्करी भइरहेको छ। प्रहरीले २ सय ५० क्विन्टल छोकडासहित ट्रक र चालक पक्राउ गरेपछि तस्करीको रहस्य खुलेको हो ।
भारततर्फ लगिरहेको अवस्थामा वीरगञ्ज महानगरपालिका- १६ रजतजयन्ती चैक स्थित बाट छोकडा लोड गरिएको ट्रक र चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ना ५ ख. ९८५८नम्बरको उक्त ट्रकमा २ सय ५० क्विन्टल छोकडा लोड थियो।
छोकडा भारत तस्करी गर्न लागेका ट्रक चालक बर्ष ३२ को निशाल भन्ने बिशाल क्षेत्री पक्राउ परेका छन्। उनी वीरगन्ज महानगरपालिका-१६ कै वासिन्दा हुन्। ट्रक गाडीमा छोकडा चोरी निकासी गरी भारततर्फ लैजादै छ भन्ने बिशेष सुचनाको आधारमा छोकडा लोड गरिएको ट्रक र चालकलाई आइतबार १९:२५ मा पक्राउ गरिएको जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए।
उनले छोकडा कुन व्यापारीको हो भन्ने विषयमा केही नखुलेको बताए। पक्राउ परेका चालकमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरिएको र बोर्डर समेत सिल रहेको अवस्थामा तस्करी गर्न लागेको ठूलो परिमाणको छोकडा बरामद भएपछि सुरक्षा अधिकारीहरु नै आश्चर्यमा परेका छन्।

















