. आलोक यादव प्रकाशित मिति – २०७७ बैशाख ९ गते !
बिरगंज । पर्साका विभिन्न नाकाबाट लकडाउनका बेला पनि छोकडा तस्करी भइरहेको छ। प्रहरीले २ सय क्विन्टल छोकडासहित ट्रक र चालक पक्राउ गरेपछि तस्करीको रहस्य खुलेको हो ।
भारततर्फ लगिरहेको अवस्थामा वीरगञ्ज महानगरपालिका-२१ परवानीपुर चोकबाट छोकडा लोड गरिएको ट्रक र चालकलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। ना ५ ख. ७८२६ नम्बरको उक्त ट्रकमा २ सय क्विन्टल छोकडा लोड थियो।
छोकडा भारत तस्करी गर्न लागेका ट्रक चालक ४१ वर्षीय शिवपुजन हजारा दुसाद पक्राउ परेका छन्। उनी वीरगन्ज महानगरपालिका-२१ कै वासिन्दा हुन्। जितपुरबाट परवानीपुरतर्फ आउँदै गर्दा छोकडा लोड गरिएको ट्रक र चालकलाई आइतबार राति पक्राउ गरिएको जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयका एसपी जयराज सापकोटाले जानकारी दिए।
उनले छोकडा कुन व्यापारीको हो भन्ने विषयमा केही नखुलेको बताए। पक्राउ परेका चालकमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरिएको र बोर्डर समेत सिल रहेको अवस्थामा तस्करी गर्न लागेको ठूलो परिमाणको छोकडा बरामद भएपछि सुरक्षा अधिकारीहरु नै आश्चर्यमा परेका छन्।

















