काठमाडौं , बैशाख ३१ गते बुधबार । राष्ट्रियसभा सांसद मृगेन्द्र कुमार सिंह यादवले दौरा सुरुवाल र टोपी लगाउनेहरुले भारतसँग राष्ट्रघाती सम्झौताहरु गरेको आरोप लगाएका छन् । भारतले नेपाली भूमि मिचेको विषयमा सरकारलाई पूर्व जानकारी रहेको उल्लेख गर्दै उहाँले यस्तो आरोप लगाएका हुन् ।

कोसी, गण्डकी, महाकाली र टनकपुर सम्झौताहरु धोती, कुर्था र गम्छा लगाउने मधेशी नागरिकले नभइ दौरा, सुरुवाल र टोपी लगाउनेले गरेको उनले बताए । भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा प्रधानमन्त्रीले जानकारी थिएन भन्नु ‘म कुटे जस्तो गर्छु तिमी रोएजस्तो गर’ भनेजस्तै भएको बताए ।

‘भारतका रक्षामन्त्री राजनाथ सिंहले सडक उद्घाटन गरेपछि थाहा पायो नेपाल सरकारले । के रातारात सडक बनेको हो ? पहिलेदेखि नेपाल सरकारलाई थाहा थियो । यहाँ कोसी गण्डकी, महाकाली, टनकपुर जति सम्झौता भएका छन्, त्यो धोती कुर्था र गम्छा लगाउनेले गरेका छैनन् । त्यो जम्मै दौरा सुरवाल र टोपी लगाउनेले गरेका हुन्,’ उनले भने, ‘अहिले पनि त्यो सडक बनिराखेको छ । हाम्रो प्रधानमन्त्रीलाई थाहा थिएन रे । त्यो समयमै कुरा उठाउनु पथ्र्यो, रोक्नुपथ्र्यो । नत्र यो त म कुटे जस्तो गर्छु तिमि रोएजस्तो गर्नु भन्ने उखान चरितार्थ भइराखेको छ ।’

भारतले नेपाली भूमिमाथि आक्रमण गरे मधेशी जनताले गरेको भन्ने निराधार अरोप लाग्ने गरेको उल्ल्ेख गर्दै उनले राष्ट्रिय स्वाभिमानको रक्षाका लागि ज्यानको बाजी लगाउन तयार रहेको बताए । ‘हामी यसमा स्पष्ट छौँ नेपालको एक इन्च भूमिको लागि पनि हामी मर्न तयार छौँ । हाम्रो दल पनि, सार्वभौम राष्ट्रको स्वाभिमानी नागरिक हामी पनि हौं । हामीलाई शंकाको दृष्टिले नहेरियोस् ।’’
कोभिड — १९ नियन्त्रणका लागि सरकारले गम्भिर कदम चाल्न नसकेको उनले बताए । दिनदिनै संक्रमितको संख्या बढिरहेका बेला परीक्षण किटको अभाव रहेको उल्ल्ेख गर्दै उनले सीमा क्षेत्रमा अलपत्र नागरिकहरुलाई व्यवस्थित रुपमा स्वदेश ल्याउन प्रवन्ध मिलाउन पनि आग्रह गरे ।

सांसद जीवन बुढाले कोरोनाको संक्रमणबाट ढिलो चाँडो मुक्ति पाइएपनि भारतको संक्रमणविरुद्ध लड्न ‘केमिकल उत्पादन’ गर्नुपर्ने आवश्यकता औँल्याए । ‘‘कोरोना भाइरसबाट संक्रमित छौँ । तर हामी छिमेकी भारतबाट पनि संक्रमित छौँ । कोरोना भाइरस आउने जाने भाइरस हो । यसको औषधि विज्ञले पनि बनाउलान् । संसारभरीका विज्ञहरुको पनि सहयोग प्राप्त गरौँला । तर भारतजस्तो भाइरसको हामीले केमिकल एक्लै उत्पादन र प्रयोग गर्नुपर्ने छ । जुन २०४ वर्ष देखि लागेको छ र आजसम्म छोडेको छैन् । यसको उपचार हाम्रो मुल उपचार हो ।’’
सञ्चारमाध्यम समाचार आएपछि काठमाडौंमा रेलिङ भाँच्ने प्रचलन नौलो नभएपनि नागरिक र सीमा क्षेत्रको रक्षाका लागि सरकारले गर्नुपर्ने काम केही गर्न नसकेको बताए । सीमा समस्या समाधानका लागि भारतसँग औपचारिक संयन्त्र बनाएर वार्ता गर्न पनि उनले आग्रह गरे । सीमा क्षेत्रमा तारबार गरेर मात्रै समस्या समाधान नुहने भन्दै उनले सीमा क्षेत्रमा व्यस्ती व्यवस्थापन र भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने बताए ।


















