काठमाडौं। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचारी ठहर भएका छन्। विशेष अदालतले बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहरेको हो।

विशेष अदालतले थापालाई गैरकानुनी सम्पत्तिको मुद्दामा एक वर्ष कैद र बिगो बराबरको जरिवाना हुने फैसला सुनाएको छ।विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले निलम्बित मेयर थापाले तीन करोड ४५ लाख २२ हजार ३८७ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको हो।
अदालतले निलम्बित मेयर थापासहित प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेललाई भ्रष्टाचारी ठहर गरेको हो।उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीले भने सफाइ पाएका छन्।
जाँच अवधिमा थापाको कुल आय ९ करोड १४ लाख ३१ हजार ३ रुपैयाँ र कुल व्यय १२ करोड ५९ लाख ५३ हजार ३९१ रुपैयाँ देखिएको अख्तियार दुरुपयोग अनुसन्धानको ठहर थियो। आयभन्दा बढी रहेको तीन करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ अख्तियारले बिगो कायम गरेको थियो।अदालतले थापालाई एक वर्ष कैद र बिगो बराबर तीन करोड ४५ लाख २२ हजार ३८७ जरिवाना हुने फैसला सुनाएको छ।
यस्तै, थापालाई नदीजन्य पदार्थको ठेक्कामा हानिनोक्सानी गरेको अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गरेको छ। बागमती नगरपालिकाको मूल्य अभिवृद्धि करसहित ३० करोड २९ लाखभन्दा बढीको नदीजन्य पदार्थमा हानिनोक्सानी गरेको ठहर गरेको हो। यो मुद्दामा सजाय निर्धारणका लागि अर्को पेशी तोकिनेछ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ जेठ २९ मा थापा, उपमेयर लीलाकुमारी मोक्तानसहित ६ जनालाई प्रतिवादी बनाएर ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।
आयोगका अनुसार थापाले आफ्नो पदको दुरुपयोग गर्दै विकास निर्माणका ठेक्कामा अनियमितता, बजेटको दुरुपयोग तथा सार्वजनिक सम्पत्तिको अपचलन गरेको पाइएको छ। अनुसन्धान प्रतिवेदनमा उल्लेख भएअनुसार, नगरपालिकाका योजनामा रकम हिनामिना गरिएको छ र प्रक्रियाबेगर आफ्ना निकट कम्पनीहरूलाई ठेक्का दिइएको छ।
थापाले केही योजनाको लागत कृत्रिम रूपमा बढाएर आफ्ना स्वार्थका लागि आर्थिक फाइदा उठाएका थिए। यसै आधारमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो, जहाँ अदालतले उनलाई दोषी ठहर गरेको हो।
मेयर थापा र उपमेयर लीलाकुमारी मोक्तान दुवैजना माओवादीबाट विजयी जनप्रतिनिधि हुन्।

















