जन प्रभाब / २०७७ बैशाख २० गते .
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक कलह चर्किएका बेला प्रधानमन्त्री केपी ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेलाई बालुवाटार बोलाएका छन् ।
स्रोतका अनुसार यो समाचार तयार पार्दासम्म घिमिरे बालुवाटारमै छन् । ओली र घिमिरेबीच वान टु वान वार्ता जारी छ । ओलीको पछिल्लो व्यवहारले प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु सशंकित भइरहेका बेला संवैधानिक निकायका प्रमुखलाई कार्यकारीले आफ्नै निवासमा बोलाएर भेट्न्ुलाई आश्चर्यका रुपमा हेरिएको छ ।
ओलीले यसअघि अख्तियारका रिक्त सदस्यमा आफ्ना मानिस नियुक्त गर्न प्रमुख विपक्षी दलका नेताको भूकिमा नरहने गरी संवैधानिक परिषद ऐन संशोधनका लागि अध्यादेश ल्याएका थिए ।
दल विभाजनसम्बन्धी अध्यादेशसँगै ल्याइएको उक्त अध्यादेश पार्टीभित्र र बाहिरबाट समेत चर्को आलोचना खेपेपछि ओलीले मन्त्रिपरिषदबाट फिर्ता लिएका थिए ।
अख्तियारलाई कार्यकारीको छायाँमा राख्ने नियतका साथ ओलीले अध्यादेश ल्याइएको आरोप लागिरहेका बेला अख्तियार प्रमुखलाई रातिराति बोलाएर गोप्य भेटघाट गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
अध्यादेश प्रकरणपछि सरकार र पार्टी नेतृत्व छाड्न ओलीमाथि दबाब छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतले ओलीविरुद्ध मोर्चाबन्दी नै गरेका छन् । सहमतिमा राजीनमा माग्दा नदिए विधि प्रयोग गरेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तयारी उक्त समूहको छ ।
ओली र उनी समर्थकले आफ्नो सत्ता जागाउने अन्तिमसम्म लड्ने र जे पनि गर्न तयार रहेको चेतावनी दिँदै आएका छन् ।
ओलीले अख्तियारलाई आफूहरुविरुद्ध प्रयोग गर्ने खतराबारे सचेत रहेको नेता नेपाल निटक एक स्थायी समिति सदस्यले बताए ।
केही दिनअघि ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पनि त्यसरी नै राति बोलाएर भेटेका थिए । जुन भेटघाटलाई लिएर ओली र राणा दुवैको आलोचना भइरहेको छ ।

















