जन प्रभाब / २०७७ बैशाख १८ गते .
जनकपुरधाम । प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआइजी) धिरज प्रताप सिंहले बुधबार सर्लाही , रौतहटमा र आज बिहिवार धनुषा जिल्लाको जनतालाई कोरोना भाइरस सम्बन्धी कुनै पनि भ्रम र समस्या र शान्ति सुरक्षा अवस्थाको बारेमा स्थलगत अनुगमण गर्नुभएको छ । २ नम्बर प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुले यस विद्यमान परिस्थितिमा सम्पादन गरिरहेको प्रहरी सेवा प्रवाह लगायत अन्य विविध विषयमा जानकारी लिई आवश्यक निर्देशन सम्बोधन गर्ने उद्देश्यले प्रहरी नायव महानिरीक्षक आफ्ना मातहतका प्रहरी युनिटको बारेमा जानकारी लिनुका साथै जिल्लाको सुरक्षा निकायका प्रमुखहरुसंग भेटघाट समेत गर्नुभएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

सोही अवसरमा संघीय प्रहरी इकाई कार्यालय जनकपुरधाम प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र चौधरी , २ नम्बर प्रदेश अन्तर्गतका प्रदेश ट्राफिक प्रहरी प्रमुख, प्रदेश सशस्त्र प्रहरी गण प्रमुख, दंगा नियन्त्रण प्रहरी गण प्रमुख साथै सर्लाही , रौतहट र धनुषा जिल्ला प्रहरी प्रमुखहरुले आ-आफ्नो क्षेत्रको विद्यमान शान्ति सुरक्षाको अवस्था, अपराधिक अवस्था लगायत कोरोना भाईरस (COVID-19)को संक्रमणलाई फैलन नदिन प्रहरीले गरिरहेको विविध जनमूखि गतिविधिहरुका विषयमा जानकारी गराउनु भएको थियो ।
निर्देशन सम्बोधनका क्रममा प्रहरी नायव महानिरीक्षक सिंहले विश्वभर कोरोना भाइरस सङ्क्रमणको जोखिम बढिरहेकाले प्रहरी कर्मचारीहरु पनि सावधानीका लागि अपनाउनु पर्ने सुरक्षाका विधिहरु अनिवार्य रुपमा अवलम्बन गर्दै सामाजिक दुरी कायम गरी आफू सुरक्षित भई आम नागरिकहरुलाई समेत यसको संक्रमणबाट बचाउन हरसम्भव लाग्नु पर्ने कुरा बताउनुभयो ।
साथै उहाँले प्रहरी सेवा प्रवाहका विषयमा बताउँदै सेवाग्राही आम नागरिक प्रति उत्तरदायी भई आचरणयुक्त तथा उच्च प्रहरी व्यवसायीकता झल्किने गरी जनमूखि प्रहरी सेवा सम्पादन गर्न समेत निर्देशन दिनु भयो ।

















