जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १४ गते .
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पाटि (नेकपाका) उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र र सरकार संचालनमा उत्पन्न भएका समस्या समाधान पार्टी र पार्टी किमिटीलाई बाइपास गरेर नहुने सुझाव प्रधाानमन्त्री केपी शर्मा ओलीलाई दिएको प्रष्ट पारेका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै गौतमले सरकारले ल्याएको अध्यादेश जारी र खारेज प्रकरणलाई लिएर पार्टीभित्र र समस्या उत्पन्न भएको उल्लेख गरेका छन्। ‘समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरू खारेज गरिएपछि पनि अनेकौं समस्या पार्टीभित्र उत्पन्न भएका छन्,’ गौतमले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर होइन प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरूको सामना गरेर मात्र गर्न सकिन्छ।’
अध्यादेश फिर्ता लिएपछि समस्या नरहेको भन्दै ओलीले नेताहरूलाई मनाउने प्रयास गरिरहेको अवस्थामा गौतमले भने आवश्यक परे केन्द्रीय कमिटी बैठकसमेत बोलाउनुपर्ने सुझाव दिएको बताएका छन्। ‘सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटी बैठक बोलाउनुस्। सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबैका सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ,’ प्रधानमन्त्रीसँगका कुरालाई गौतमले यसरी विज्ञप्तिमा उल्लेख गरेका छन्।
आफ्ना कुरा प्रधानमन्त्रीले धैर्यतापूर्वक सुनेको गौतमले लेखेका छन्। आफू र प्रधानमन्त्रीबीच भएका कुराबारे मनमौजी किसिमले टिप्पणी भएको पनि उनले लेखेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !