जन प्रभाब-सम्बादाता / २०७७ बैशाख ११ गते !
पोखरा । नेपाल सरकार गृह मन्त्रालयको निर्णायानुसार गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ ।
नेपाल सरकार गृह-मन्त्रालय (मा. मन्त्रीस्तर) को मिति २०७७।०१।०७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पदस्थापन हुनु भएको हो ।
सोही अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक राजेश कुमार लाल कर्णले भर्खर मात्रै सरुवा भई आउनु भएका गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अर्याललाई समग्र प्रदेश अन्तर्गतको प्रहरी गतिविधि, अपराधिक अवस्था लगायत COVID-19 भाईरसको संक्रमणलाई फैलन नदिन प्रहरीले गरिरहेको विविध जनमुखि गतिविधिहरुका विषयमा जानकारी गराउनु भएको थियो ।
पदभार ग्रहण पश्चात सहभागि प्रहरी अधिकृतहरुलाई संक्षिप्त निर्देशन सम्बोधन गर्दै उहाँले वैश्विक महामारीका रुपमा रहेको COVID-19 भाईरसको संक्रमणबाट आफू सुरक्षित भई नागरिकहरुलाई समेत यसको संक्रमणबाट बचाउन लागि पर्नु नै अहिलेको पहिलो प्राथमिकता भएको बताउनु भएको छ ।

















