काठमाडौं। नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदिप अधिकारी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्री परिषद्काे बैठकले उनलाई नियुक्त गरेकाे हाे। ११औं तहमा काम गर्दै आएका अधिकारीले आफ्नो कार्यकालमा राष्ट्रिय गौरव आयोजना अन्तर्गतका विमानस्थल संचालनलाई पहिलो प्राथमिकता दिएको जानकारी दिए।

आउँदो बुद्ध पुर्णिमाको दिनबाटै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने योजना रहेको अधिकारीले जानकारी दिए। ‘बुद्ध जयन्तिको दिन भैरहवा विमानस्थल संचालनमा ल्याउने उद्धेश्य लिएको छु। आउँदो बैशाखसम्म पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्ने उद्धेश्य लिएको छु’ नवनियुक्त महानिर्देशक अधिकारीले भने।
महानिर्देशक पदमा नियुक्त भएको आधिकारिक पत्र पाउन भने बाँकी नै रहेको उनले जनकारी दिए। चार वर्षका लागि महानिर्देशक पदमा नियुक्त भएका ४२ वर्षिय अधिकारीले पुलचोक इन्जिनियरिङ क्यम्पसबाट एमइ गरेका छन् भने इकोनोमिक्समा पिएचडी गर्दै छन्।वि.सं. २०६४ सालमा नागरिक उड्डयन प्राधिकरणमा आठौँ तहमा सेवा प्रवेश गरेका उनी खुला प्रतिस्पर्धामार्फत निर्देशक पदमा नाम निकालेका थिए। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुखको रुपमा काम गर्दै आएका थिए।
महानिर्देशक पदका लागि १२ औं तहमा कार्यरत प्रतापबाबु तिवारी, भोला गुरागाईँ, देवचन्द्र लाल कर्ण, हंसराज पाण्डे, गोविन्द दाहाल र प्रेमनाथ ठाकुर प्रतिस्पर्धामा थिए भने निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले कार्यकाल लम्ब्याउने प्रकृयामा थिए।
हाल उपमहानिर्देशक प्रेम नाथ ठाकुरले निमित्त महानिर्देशक पदको जिम्मेवारी सम्हाल्दै आएका थिए। प्राधिकरणका आधिकारीक कर्मचारी ट्रेड युनियनले लामो समय देखि महानिर्देशक पद खाली भइ महत्वपुर्ण काम अड्किएको भन्दै विरोध गर्दै आएका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !