सिरहा,जेठ १४ गते बुधबार । सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर – ३ चोहर्वा खोरियामा बुधबार जग्गा विवादमा दुई समूहबीच झडप हुँदा करिब १५ जना घाइते भएका छन्।
लामो समयदेखिको जग्गा विवादको विषयमा छलफल गर्न बुधबार बिहान स्थानीय भेला भएको ठाउँमा झडप भएको स्थानीय मोहम्मद सकिलले बताए। छलफलमा विवाद हुँदा दुवै पक्षले घरेलु हतियारसहित ढुंगामुढा गर्दा १५ जना घाइते भएका ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तु जैसवालले जानकारी दिए ।
झडपपछि घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएको छ। स्थानीय स्थानीय मो. रमतुल्ला अन्सारी, जुबेर कलाम र मो. मनिर अन्सारीबीच लामो समयदेखि जग्गा विवाद छ। झडपमा परी रमतुल्ला पक्षका मो. मजेबुल, मुबारक मियाँ, जाकिर अन्सारी, रजिना खातुन, जाबिर अन्सारी, मिनत अन्सारी, रजिना खातनु, सहिद अन्सारी घाइते भएका छन्।
त्यसैगरी मनिर पक्षका हमिद मियाँ, अजमत राइन, दाउद अन्सारी, सुलफा खातुन, मोहम्मद अन्सारी र करामत राइन घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरूको टाउको, हात, खुट्टामा चोट लागेको छ। उनीहरूको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त बस्तीमा यसअघि पनि जग्गासम्बन्धी विवादमा दुई समूहबीच दुईपटक झडप भइसकेको छ। रमतुल्ला नेकपा र मनिर राजपाका स्थानीय नेता हुन्।


















