दिनेश्वर गुप्ता ।
लहान, ३ जेठ । लकडाउनको कहर कहाँ छैन । शहर बजार गाउँ टोल घरघर लकडाउनले प्रभावित छन् । यसमा पनि गरिब, दलित तथा ज्यालादारी गरी जीवन बाच्नेको कहर असहनीय छ । यस्ता गरिब, दलित तथा ज्यालादारी मजदुरको दिव्यरुपमा अग्रणी भूमिका निर्वाह गर्दैछन् लहान ७ का एक दम्पती ।
करिब दूई महिनादेखि कोरोना भाइरसको कारण लकडाउनमा सरकारले राहतको व्यवस्था गरेको छ । दिनभर काम गरेपछि राती छाक टार्ने यहाँका मजदुरहरुले स्थानीय सरकारबाट उपलब्ध गराएको २० किलो चामलले दूई महिना पेट पाल्न सम्भव छ त ? यस्तै प्रश्न उठ्न थालेपछि दिव्यरुपी दम्पती महेश चौधरी र संगीता कर्माचार्यले लहानको अधिकाँश वडामा पुगेर राहत उपलब्ध गराउँदै आएको छ । जहाँ स्थानीय सरकार पुग्न सकेका छैन । त्यहाँ राहत लिएर पुग्छन् दम्पती चौधरी र कर्माचार्य । लहान १६ जहाँ पहाडीक्षेत्र हो । र, स्थानीय सरकारले राहत पुरयाउँन नसक्दा चौधरी र कर्माचार्य पुगेका थिए । उनीहरु लहानको २४ वटै वडामा पुग्ने लक्ष्य लिएको छ भने छिमेकी नगरपालिका धनगढीमाई समेत पुगेर राहतको व्यवस्था गर्दै आएका छन् । लहान २४ मा राहत नपाएका घरपरिवारलाई जेठ १ गते चौधरी र कर्माचार्य दम्पतीले राहत पुर्याउँन पुगेका थिए । बर्षा भइरहेको यस्तो अवस्थामा समेत चौधरी र कर्माचार्य दम्पतीले ४० घरपरिवारलाई राहत उपलब्ध गराएका छन् । आजको राहत वितरणमा स्थानीय दिपेन्द्र, शितल साह, बलिराम यादवलगायतले समाजिक दुरीको व्यवस्थापन गरेका थिए । चौधरी दम्पतीले राहतमा १० किलो चामल, एक किलो नुन, एक लिटर खानेतेल, तरकारीगरी गरिब, दलित तथा विपन्नवर्गलाई उपलब्ध गराउँदै आएको छ । चौधरी दम्पतीले हालसम्म साढे चार सय घरपरिवारलाई राहत उपलब्ध गराएको जानकारी गराएको छ । चौधरी र कर्माचार्य दम्पतीले ‘विपन्नवर्गको सेवाको लागि यो अभियान चलाएका छौं ।’ ‘रोगभोकबाट जबसम्म समाज मुक्त हुँदैन, तबसम्म विकासको मूल नफुट्ने हो ।’ चौधरी दम्पतीको विपन्नवर्गप्रति सर्मपण देखेर यहाँका विभिन्न संघसंस्था र नीजि विद्यालयहरुले समेत सहयोग गर्दै आएको छ ।

















