सिरहा,बैशाख ३१ गते । सिरहाको नरहा गाउँपालिका वडा नम्बर – १स्थित देविपुरका मुसहर समुदायका एक समूह राहत वितरण भइरहेको सुनेर वडा कार्यालय पुगे ।
राहत पाउने आशमा घरको सारा कामकाज छाडेर गएका उनीहरुलाई रित्तै फर्कनु पर्यो । ‘राहत पाउने भनेपछि दिनभरी बसेँ,’ एकजनाले भने, ‘तर, अन्तिममा नागरिकता छैन भनेर त्यत्तिकै फर्काए ।’
उनीहरुसँग हालसम्म नागरिकता छैन । पुस्तौंदेखि त्यहीँ बसोबास गर्दै आएपनि नागरिकता नभएकै कारण आफूहरुले राहत नपाएको उनीहरुको गुनासो छ ।
उनीहरु ज्याला मजदुरी गर्छन् । लकडाउन लिम्बिएपछि काम पाएका छैनन् । ‘काममा जान नपाएको झन्डै डेढ महिना भयो,’ एकजनाले भने, ‘घरमा खान पनि गाह्रो भयो ।’ राहत वितरण भएको दिन रित्तै फर्कनु परेपछि अर्को दिन फेरि उनीहरु वडाध्यक्ष अशोक साहलाई भेट्न पुगे ।
तर, साहले वास्तै नगरेको उनीहरुको दुखेसो छ । आफूहरुलाई भेट्न बोलाउन तर, जाँदा वडा कार्यालयमा ताल्चा झुन्ड्याएर त्यहाँबाट वडाध्यक्ष गायब हुने गरेको एकजनाले बताए ।
सरकारले बिहान बेलुका छाक टार्न धौ धौ पर्नेलाई मात्र राहत दिन भने पनि हुने खाने र टाठा बाठालाई राहत दिइएको उनीहरुले गुनासो गरे । आर्थिक अवस्था कमजोर भएका, ज्याला मजदुरी गरेर जिविका चलाउने, असक्त र विपन्नलाई राहतको प्राथमिकतामा राखिनुपर्नेमा पार्टी विशेषलाई प्राथमिकता दिइएको स्थानीयहरुको आरोप छ ।
नरहा गाउँपालिकामा हालसम्म वितरण भइसकेको अधिकांश राहत हुने खाने परिवारमै गएको देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !