जनकपुर । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाको सन्युक्त प्रहरी टोलिले हातहतियार तथा गोलीसहित एक मिटरब्याजीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय दिलिप साह रहेका छन्।
जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरूले दिएको उजुरीका आधारमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तबहादुर कुँवरको निर्देशनमा शनिबार प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी नायव उपरीक्षक दिपककुमार रायको कमाण्डमा खटिएको सन्युक्त प्रहरी टोलीले मिटरब्याजी साहको घर तथा पसलको खानतलासी गर्दा हातहतियार तथा गोलीसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको घरबाट कपाली तमसुकहरू, जग्गाधनी पुर्जाहरू, खाली चेकलगायतका अन्य कागजातहरू तथा कटुवा पेस्तोल १ थान, ३०३ राइफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद भएको हो।
पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

















