काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल लगायतको शीर्ष नेतृत्व पुगेर ज्ञापनपत्र बुझाउँदै समाजवादीले आर्थिक संकट समाधान गर्न आग्रह गरेकाे हाे ।
समाजवादीले कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै ध्यानाकर्षण गराएको छ । दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको एकीकृत समाजवादीको ठहर छ । अध्यक्ष माधव कुमार नेपालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा देशको आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव समेटिएको छ।
ज्ञापन पत्रमा लेखिएको छ, ‘देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गरोस् ।’
त्यसैले देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि तत्काल अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन एकीकृत समाजवादीले आग्रह गरेको छ ।
एकीकृत समाजवादीले संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न, महँगी नियन्त्रण गर्न, समस्याग्रस्त उद्योग तथा व्यवसायले जरिमाना र कर तिर्ने सुविधा तथा भाखा नाघेका ऋणको किस्ता र ब्याज तिर्ने अवधि २०८० असार मसान्तसम्मलाई बढाउन लगायतका माग गरेको छ ।
यसैगरी सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिन, युवा विद्यार्थी, बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न, कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा अनिवार्य सीपमुलक तालिम र देशभक्तिपूर्ण पाठ राख्न लगायतका माग बुँदागत रुपमा ज्ञापनपत्रमा उल्लेख गरेको छ । पार्टीका नेताहरु घनश्याम भुसाल, प्रकाश ज्वाला, गंगालाल तुलाधार लगायतका नेताहरु बालुवाटार पुगेका थिए।




















