काठमाडौं । करिब आधा जीवनसँगै बिताएका सहकर्मीसँगको प्रतिशोध साँध्दै पोखरेलले जागिरको मध्यतिर देखिएको केही विवादित घटनाहरु र आम मानिसले लगाउने गरेको आरोप पुष्टी गर्न स्वयंले ‘तेल’ थपे । अन्तिममा आएर उनी अधिकारको खोजीमा कर्तव्यविमुख बने अथवा कर्तव्यच्यूत देखिए ।

नेपाल प्रहरीको इतिहासमा एकपछि अर्को छलाङ मार्दै निर्णायक घडीमा धक्का खाने प्रहरी अधिकृतका रुपमा विश्वराज पोखरेलको नाम दर्ज भएको छ । उनले एसएसपी, डिआइजी र एआइजी हुँदा यस्तो छलाङ मारेका थिए जुन प्रहरीको इतिहासमा विगतमा पनि थिएन र भविष्यमा पनि हुन कठिन छ । तर, उनैले आइजीपी बन्ने दौडमा नराम्रो धक्का खानुपर्यो ।
पोखरेलसँगै प्रहरी इन्स्पेक्टर भएका थिए धीरजप्रताप सिंह जो आफ्नो ब्याचीमा नम्बर एकमा नाम निकालेर प्रहरी सेवामा प्रवेश गरेका थिए । डिआइजी बढुवामा पनि सिंह नै नम्बर एक बने । पोखरेल पछि परे । एसपी बढुवामा पनि सिंहभन्दा पोखरेल पछि थिए । तर, एसएसपी बढुवामा उनले आफूभन्दा अघिल्लो ब्याचीलाई समेत उछिनेर बढे । सिंह रोक्किए पोखरेल बढे ।
पोखरेलका लागि तत्कालीन सत्तामा रहेकाहरु फाप्यो । विशेषगरी केपी शर्मा ओली प्रधानमन्त्री बन्दा एकपछि अर्को छलाङ मार्न सके । २०७५ मा काभ्रेमा डिआइजी सुशील भण्डारीको सवारी दुर्घटनामा मृत्यु भएपछि पोखरेलले रिक्त ठाउँमा आँखा गाडे । आफूभन्दा अघिल्ला ब्याचीकाहरु ठूलो संख्यामा एसएसपी थिए । तर, पोखरेलले राजनीतिक दबाब दिइरहे । तत्कालीन प्रहरी नेतृत्वले लामो समय फाइल रोक्यो । तर, केही जोर चलेन । पोखरेलको एकल बढुवा भयो ।
एआइजी बढुवामा पनि पोखरेलले दरबन्दी नै बढाउन सके । उनको निकै पहुँच थियो । त्यसैका आधारमा दरबन्दी खडा गरेर डिआइजीका आफूभन्दा अघिल्लो ब्याचीलाई समेत पछि पारेर बढुवा लिन सके । यतिसम्मकी शैलेश थापा क्षेत्रीको ब्याचीलाई पछि पार्दै आइजीपीमा बाजी मार्ने प्रयास गरे । त्यो सफल भएन ।
जब आइजीपीको बढुवा हुने बेला भयो तब पोखरेललाई धक्का लाग्यो । उनले जसरी छलाङ मारेका थिए त्यसैगरी सहकुल थापाले दरबन्दी खडा गरी एआइजीमा बढुवा पाएर प्रतिष्पर्धीका रुपमा देखापरे । त्योभन्दा ठूलो चुनौती एकैपटक पोखरेलका ब्याचीमध्येका २ डिआइजी दरबन्दी खडा गरेर बढुवा भएपछि भयो । धीरजप्रताप सिंह र रवीन्द्र धानुकले एआइजीमा बढुवा पाए । उनीहरुमध्येका सिंहले बाजी मारे ।
एआईजी पोखरेलले आफू न्याय माग्दै अदालत शरण पर्दै गर्दा आफ्नो कर्तव्य भने भुलेका छन् । अदालतमा मुद्दा छ भन्दैमा कार्यालयमा उपस्थित हुनु पर्दैन भन्ने कुनै पनि नियमावलीमा उल्लेख गरिएको छैन, फगत पोखरेलको मानसिकतामा बाहेक ।
पोखरेल सर्वोच्च अदालतमा गए । उनले नाम चलेका कानून व्यवसायीहरुलाई पक्षमा बहस गर्न मोटो रकम खर्च गरे । केही महिनाको अलमलपछि अदालतले आइजीपीमा सिंहको बढुवाको पक्षमा निर्णय सदर गर्ने फैसला गर्यो । पोखरेलको आइजीपी बन्ने सपना चकनाचुर भयो ।
राजीनामा पत्र बोकेर सिंह प्रहरी मुख्यालय नक्शाल पुगे । वरिष्ठ प्रहरी अधिकारीहरूले राजीनामा गर्दा कम्तीमा तीनजना प्रहरी अधिकारीबाट सनाखत गराउनुपर्ने कानुनी व्यवस्था छ। विश्वराजले राजीनामा दिन प्रहरी प्रधान कार्यालय पुगेर राजीनामामा सनाखत गराउन खोजे पनि सुरुमा प्रहरी अधिकारीहरूले सनाखत गर्न अस्वीकार गरेका थिए। सनाखत गर्दा भोलि समस्या हुने डरले धेरै अफिसरहरूले सनाखत गर्न मानेनन्। सनाखत नभएपछि एक छिन तनावमा देखिएका विश्वराजको सनाखत गरिदिनु भनेर माथिबाट आदेश आएसँगै प्रहरी अधिकारीहरूले सनाखत गरिदिएका थिए । तर स्वीकृत भएन । उनको राजीनामा स्वीकृत नहुँदै १९ साउनमा सेवानिवृत्त हुने समय आएको छ । एआइजीका रुपमा रहँदा उनी ५६ वर्षको उमेरहदले १९ साउनमा घर जाने भएका छन् ।
आइजीपी बन्ने सपना चकनाचुर भएपछि बिदा लिई बसेका उनले झण्डै ४ महिना अघि नै प्रहरीको बर्दी फुकालिसकेका छन् । उनको न त राजीनामा स्वीकृत भयो न त सानदार बिदाई । प्रहरी सेवामा छलाङ मार्दै बढेका पोखरेलको नक्शालबाट बिदाई कार्यक्रम समेत नहुने भएको छ । उनले उमेरहदका कारण अवकाश पाएको पत्र बुझ्न सिभिलका रुपमा पुग्नुपर्ने अवस्था बनेको छ ।

















