वीरगञ्ज । पछिल्लो समय मोटरसाइकल चोरीका घटनामा वृद्ध भएपछि प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्लो एक महिनामा दर्जनभन्दा बढी मोटरसाइकल चोरलाई नियन्त्रणमा लिएको छ ।
पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतको निर्देशनमा प्रहरीले अभियान सञ्चालन गरेर मोटरसाइकल चोरहरुलाई नियन्त्रणमा लिन थालेको हो ।

प्रहरीले जिल्लाको सदरमुकाम वीरगञ्जमा मोटरसाइकल चोरहरुलाई पक्राउ गर्ने अभियान चलाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वीरगञ्जका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरिरहेको, चोरेर भाग्दै गरेको र चोरी भएपछि अनुसन्धान गरेर मोटरसाइकलसहित दर्जनौं चोरलाई पक्राउ गरिएको पर्सा प्रहरीको पछिल्लो तथ्यांकले देखाउछ ।
पर्सा प्रहरीले माघ १९ गते मंगलवार राती १० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिष्वा चोकमा पार्किङ्ग गरेर राखिएको मोटरसाइकल चोरेर भाग्दै गरेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २ निवासी मोहमद अलीलाई पक्राउ गरेको थियो ।
त्यसैगरी माघ १६ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ स्थित सानो पाईलाको भरपेट भोजनालय अगाडीबाट मोटरसाइकल चोरेर भागिरहेका चितवनको कालिकामाई नगरपालिका वडा नम्बर १ निवासी रोशन डुम्जनलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
पर्सा जिल्लामा शान्ति सुरक्षा व्यवस्था कायम गर्न, तस्करी नियन्त्रण गर्न, अपराधीक घटना हुन नदिन पर्सा प्रहरीले कुनै कसर बाकी नराख्ने एसपी रमेश कुमार बस्नेतले प्रतिबद्धता व्यक्त गरेका छन् ।

















