काठमाडौं । राष्ट्रिय सभाकाे रिक्त १९ सदस्यकाे लागि माघ १२ गते निर्वाचन हुँदैछ । निर्वाचनमा ४३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चा (राजमो)ले देशैभर गठबन्धन गरेर साझा उम्मेदवार तयार गरेका छन्। त्यस्तै, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भने मधेस प्रदेशका लागि मात्रै गठबन्धन गरेका छन्।
सातवटै प्रदेशमा स्थानीय तहका पदाधिकारी र प्रदेश सभा सदस्यहरुको संख्या हेर्दा सत्ता गठबन्धनले जित्ने देखिन्छ ।
प्रदेश १ मा राष्ट्रिय सभाको महिला, अपांगता/अल्पसंख्यक र अन्य क्लस्टरका एक-एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। त्यहाँ गठबन्धनका तर्फबाट साझा उम्मेदवारको अतिरिक्त एमाले र राप्रपाले आफ्ना उम्मेदवार उठाएका छन्।
यहाँ मुख्यगरी एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ। यसैगरि मधेश प्रदेशमा राष्ट्रिय सभाको अन्य र महिला क्लस्टर अन्तर्गत निर्वाचन हुन गइरहेको छ।
मधेश प्रदेशमा सत्ता गठबन्धन पनि छ। गठबन्धनमा आबद्धमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपालका मतदाताले आफ्नो उम्मेदवारलाई मत हाल्नेछन्।
यसरी मधेश प्रदेशमा एमाले र लोसपा गठबन्धनभन्दा सत्ता गठबन्धनसँग तेब्बरभन्दा बढी मत देखिन्छ। त्यसैले सत्ता गठबन्धनका उम्मेदवारको जित निश्चितप्रायः छ।
अर्काेतर्फ बागमती प्रदेशमा महिला र अन्य क्लस्टर अन्तर्गत एक-एक जनाको लागि निर्वाचन हुँदैछ। यो प्रदेशमा पनि एमाले र गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुनेछ।
गण्डकी प्रदेशमा राष्ट्रिय सभाको महिला, दलित र अन्य क्लस्टरका एक-एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। गठबन्धनको तर्फबाट साझा उम्मेदवार र एमालेका उम्मेदवारहरु प्रतिस्पर्धामा छन्।प्रदेशमा कुल मतमध्ये गठबन्धनसँग स्पष्ट बहुमत देखिन्छ। त्यसैले गठबन्धन आबद्ध दलहरुका उम्मेदवार नै विजयी बन्ने देखिन्छ।
यस्तै लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको महिला, दलित र अन्य क्लस्टरका एक-एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। गठबन्धनको तर्फबाट साझा उम्मेदवारको अतिरिक्त एमालेले आफ्ना उम्मेदवार उठाएका छन्। प्रदेशमा गठबन्धनसँग स्पष्ट बहुमत भएकाेले गठबन्धनकाे जित निश्चित देखिन्छ।
कर्णाली प्रदेशमा पनि महिला, अपांगता/अल्पसंख्यक र अन्य क्लस्टरका एक-एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। गठबन्धनको तर्फबाट साझा उम्मेदवार र एमालेले छुट्टै उम्मेदवारहरु उठाएकाे छ।
प्रदेशमा एमालेकाे भन्दा सत्ता गठबन्धनकाे मतभार बढी भएकाेले गठबन्धनका उम्मेदवारले जीत्ने देखिन्छ।
सुदूरपश्चिम प्रदेशमा महिला, दलित र अन्य क्लस्टरका एक-एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। गठबन्धनको तर्फबाट साझा उम्मेदवार र एमालेका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुनेछ।
प्रदेशमा सत्ता गठबन्धनसँग रहेको कुल मतभार एमालेको भन्दा बढी भएकाेले सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धनकै उम्मेदवारहरुले बाजी मार्ने पक्का जस्तै छ।

















