काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिएको विचार र कार्यक्रमका कारण फेरी माओवादीमाथि आकर्षण बढिरहेको बताउनुभएको छ । विभिन्न चाडपर्वका अवशरमा काठमाडौंको किर्तिपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेका छन् । हामीले राम्रो काम गरेर पनि जनतालाई माओवादीले बुझाउन नसकेको हो ।’
उहाँले माओवादी प्रतिक्रियावादीको दयाले यहाँसम्म आइपुगेको नभई जनताले साथ दिएर अहिलेको अवस्थामा आएको बताउनुभयो । उहाँले नेता लेनिनको भनाई दोहोर्याउँदै भन्नुभयो, ‘कम्युनिष्टहरुले परसम्म जाने सपना देख्छन् । त्यसकारण सपना देख्नु जायज हो ।’
अध्यक्षले राम्रो सपना देखेर सपना पुरा गर्नको निम्ति संघर्ष गर्नु कम्युनिष्टहरुको चरित्र र विशेषता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले धेरै सपना देख्यौं । जनयुद्ध, शान्ति प्रक्रिया, संविधान गणतन्त्र यी सबै हामीले सपना देखेर पुरा भएका हुन् ।’ आफूहरुले संविधानमा मतभेद राखेरै भएपनि जारी गरेको स्मरण गर्दै अनुकुल समयमा संविधान संशोधन गरेर जाने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले त कम्युनिष्टहरु जति सबैलाई एकतावद्ध गर्ने एउटा शक्तिशाली पार्टी बनाउने, त्यो पार्टीलाई सही दिशा र विचारमा लिएर जाने र सामाजिक न्यायसहित आर्थिक विकास र समृद्धिको एउटा नयाँ समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिको जग बसाउने भन्ने सपना देखेको हो ।’ उहाँले यस्तो सपना देख्नु नराम्रो नभएको बताउनुभयो । त्यो सपना जायज भएको कार्यकर्ता र जनतामा आएको उर्जाले प्रमाणित गरेको अध्यक्षको भनाई थियो ।

















