हेटौँडा ।बागमती प्रदेशसभा बैठक निर्धारित समयभन्दा ढिलो सुरु भएको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अघिल्लो बैठकमा पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल हुँदैछ । मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको बैठकमै विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।
दसैँ बिदाका कारण झण्डै दुई सातापछि बिहीबार बसेको बैठकमा पनि विश्वासको मतमाथि मत विभाजन भने नहुने भएको छ ।आज १ बजे भनिएको बागमती प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि सारिएको छ । नेकपा एमालेका सांसदहरु नआएकोले बैठक २ घण्टा पर सारिएको हो । प्रदेशसभा सचिवालयले सांसदहरुलाई एसएमएस गरेर बैठक सारिएको जानकारी दिएको छ ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो एक बजे बोलाइएको थियो । सत्तारुढ नेकपा एमालेले भने बैठकमा उपस्थित नहुने बतापछि बैठक सारिएको हो । एमालेले ११ गतेसम्मका लागि बैठक सार्न आग्रह गर्दै सभामुखलाई पत्रसमेत पठाएको छ ।
अल्पमतमा परिसकेकी मुख्यमन्त्री शाक्यले केही दिन सत्ता लम्ब्याउने प्रयासस्वरुप प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको प्रक्रियालाई अल्झाएको विपक्षी दलहरु बताउँछन् । करिब दुई साता अघि पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि बिहीबारको बैठकमा छलफल हुने र सम्भवतः कार्तिक ७ गते अर्को बैठक राखेर सो बैठकमा मात्र मत विभाजन गराउने सत्ता पक्षको तयारी छ ।गत भदौ २ गते शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।
विपक्षी गठबन्धनले भने नयाँ मुख्यमन्त्रीको दाबेदारका रुपमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । विपक्षी गठबन्धनमा आवद्ध सांसदहरुले नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई समर्थन जनाउँदै हस्ताक्षर गरेका छन् ।तर तत्कालीन एमालेका १३ जना सांसदहरूले माधवकुमार नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् ।
१०९ सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री शाक्यको दल नेकपा एमालेसँग ४३ संसदमात्र छन् । अर्कोतिर विपक्षी गठबन्धनमा नेकपा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, नेकपा एकीकृत समाजवादी पार्टीका १३ र जसपाका एक सांसद छन् । यस आधारमा प्रदेशसभामा विपक्षी गठबन्धन प्रस्ट बहुमतमा देखिन्छ ।

















