बिराटनगर , बैशाख २३ गते । सशस्त्र प्रहरी बल नेपालले भारतबाट नेपाल भित्रिएकाे एउटा खाली ट्रकमा एक कराेड भन्दा बढि भारतीय रूपैयाँ सहित त्यसका चालक र सहचालकलाई पक्राउ गरेकाे हाे ।
मोरङ भन्सारमा रहेको एकिकृत भन्सार जाँचमा भारतको सुपौलबाट आएको ट्रक चेकजाँच गर्नेक्रममा उक्त रकम बरामद भएको हो । भारतीय रुपैयाँहरु एउटा कार्टुनमा प्याक गरेर ल्याईएको थियो ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठले पक्राउ परेका आरोपीहरुले बिराटनगरबाट डाईपर किनेर सिलगुढी लैजानलाई रकम ल्याएको प्रारम्भीक बयान दिएको बताए । उनले बरामद रकम सहित ट्रक र चालकलाई भन्सारमा बुझाईने बताए ।
उनीहरूले दिएकाे बयानका सम्बन्धमा साेधपुछ भइरहेकाे छ । स्राेतका अनुसार उनीहरू स्वास्थ्य सामाग्री तस्करीमा संलग्न हुनसक्ने शंका गरिएकाे छ । केही दिनअघिमात्र सेनाले नेपालबाट स्वास्थ्य सामाग्री भारत तस्करी हुनसक्ने आशंका ब्यक्त गरेकाे थियाे।
सशस्त्रले डब्लूबी ७३ ई ७६३५ नम्बरको ट्रकमा ल्याएको एक करोड नौ लाख ७९ हजार ५३० भारतीय रुपैयाँ सहित चालक रवि कुमार र सहचालक पप्पु कुमारलाई पक्राउ गरेको हो ।

















