काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी भंग गरेर महाधिबेशन आयोजक समिति बनाउने प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावलाई पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको एमाले केन्द्रीय कमिटी बैठकले फागुन २८ गतेको निर्णय अनुमोदन गर्दै केन्द्रीय समितिलाई महाधिबेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।
बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजन कमिटी गठन गरेको र आयोजक कमिटीको अध्यक्षमा केपी ओली र महासचिवमा ईश्वर पोखरेललाई निरन्तरता दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
फागुन २८ गतेको बैठकले एमालेको दशौं महाधिवेशन आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको थियो । बैठकले २६४ केन्द्रीय सदस्यको कार्य विभाजनको प्रस्ताव गर्न विष्णु पौडेलको संयोजकत्वमा टोपबहादुर रायमाझी र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तै प्रदेश कमिटी बनाउँदा प्रदेशका इन्चार्ज सह–इन्चार्ज संयोजक र सह–संयोजकको सिफारिसमा केन्द्रीय कमिटीले गर्ने निर्णय भएको छ । यस्तै बैठकले महासचिवको नेतृत्वमा सचिवालयको व्यवस्थापनमा २२ अप्रिलका दिन मदननगर बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय पनि गरेको उहाले बताउनुभयो ।ज्ञवालीले आत्मसमीक्षासहित आउने नेपाल समूहमा लागेका नेताहरुलाई पार्टीमा स्वागत गर्ने बताउनुभयो । पार्टीको निर्देशन विपरीत नेपाल पक्षले एमालेकै ब्यानरमा राष्ट्रिय कार्यकर्ता भेला गरेको भन्दै उहाँले त्यसलाई पार्टीले गम्भीरताका साथ लिएको बताउनुभयो ।

















