२०७६ चैत २४ सोमबार
काठमाडौं । कोरोना ९ कोभिड–१९० भाइरस नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री प्रतिस्पर्धामार्फत र अपुग भएमा सरकार आफैंले खरिद गर्ने भएको छ । हिजो आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको कोरोना ९कोभिड–१९० भाइरस संक्रमण नियन्त्रण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले स्वास्थ्य सामग्री प्रतिस्पर्धामार्फत र अपुग भए सरकार आफैंले खरिद गर्ने निर्णय गरेको हो ।
बैठकले कोरोना रोकथामका लागि देशभरमा रहेका झन्डै ५० हजार स्वास्थ्य स्वयंसेविकालाई गाउँगाउँमा खटाउने निर्णयसमेत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं उच्चस्तरीय समितिका सदस्य सचिव नारायण बिडारीका अनुसार स्वास्थ्य सामग्री प्रतिस्पर्धामार्फत र अपुग भएमा सरकार आफैंले सोझै खरिद गर्ने निर्णय भएको बताउनु भयो।
यसैगरी, हाल निर्धारण गरिएका क्वारेन्टाइन र राहतको मापदण्डलाई परिमार्जन गर्ने निर्णय समितिले गरेको छ । हालको महामारीको बेला बिरामी ‘रिसिभ’ गर्ने जिम्मा नेपाली सेना र स्वास्थ्यकर्मीको टिमलाई दिने निर्णयसमेत भएको सचिव बिडारीले जानकारी दिनु भयो ।

















