महोत्तरी । नेपाल–भारत खुला सीमा नाकाको दुरुपयोग गर्दै महोत्तरीको रघुनाथपुर क्षेत्रमा दिनहुँ ठूलो मात्रामा राजस्व छलि भइरहेको गम्भीर आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकै मिलेमतोमा भारतीय बजारबाट चिनी, पेय पदार्थ तथा किराना सामग्री नेपाल भित्र्याइँदै गर्दा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार रघुनाथपुरमा सशस्त्र प्रहरी बलको क्याम्प रहेको छ भने त्यसबाट करिब ५–७ सय मिटरको दूरीमा स्थायी प्रहरी चौकी स्थापना गरिएको छ। दुवै सुरक्षा निकायको उद्देश्य सीमा क्षेत्रमा तस्करी नियन्त्रण गरी राजस्व चुहावट रोक्नु भए पनि व्यवहारमा त्यसको ठीक विपरीत गतिविधि भइरहेको आरोप छ।
प्रहरीकै अगाडि खुलेआम तस्करी
स्थानीय स्रोतका अनुसार बिहानदेखि साँझसम्म भारतीय बजार भगवतीपुरबाट चिनी, पेय पदार्थ र किराना सामग्री तस्करी गरी नेपाल ल्याउने काम खुलेआम भइरहेको छ। ती सामग्री रघुनाथपुर प्रहरी चौकी वरपरका पश्चिम, उत्तर र दक्षिणतर्फका बाटो हुँदै ल्याइने गरिएको छ। अचम्मको कुरा, सशस्त्र प्रहरी क्याम्पकै अगाडिबाट तस्करी हुँदा पनि कुनै रोकतोक नहुने स्थानीयले बताएका छन्।
“घुमुवा”को नाममा अवैध संरचना कायम
सरकारले घुमुवा प्रहरीको अभ्यास बन्द गरिसकेको घोषणा गरे पनि रघुनाथपुर क्षेत्रमा भने अझै घुमुवा परिचालन भइरहेको स्थानीयको दाबी छ। “नाम नबताउने सर्तमा” एक स्थानीयले बताएअनुसार सशस्त्र र नेपाल प्रहरी दुवैले घुमुवा प्रयोग गरी तस्करहरूलाई सहज वातावरण बनाइदिएको छ। यसकै कारण लाखौँ रुपैयाँ बराबरको राजस्व दैनिक रूपमा गुमिरहेको उनको भनाइ छ।
पोखरभिडण्डा नाकाबाट पनि तस्करी निरन्तर
यसअघि पोखरभिडण्डा नाका हुँदै तस्करी भइरहेको विषयमा पटक–पटक समाचार र रिपोर्टिङ भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा तस्करी रोकिएको छैन। स्थानीयवासीहरूका अनुसार सुरक्षा निकायको सक्रियता नदेखिँदा तस्करहरूको मनोबल झनै बढेको छ।
छानबिनको जोडदार माग
स्थानीय जनताले रघुनाथपुर प्रहरी चौकी र सशस्त्र प्रहरी क्याम्पको भूमिकामाथि निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्। यदि सत्य–तथ्य छानबिन गरिएमा तस्करीमा संलग्न व्यक्ति र संरचना स्पष्ट रूपमा बाहिर आउने उनीहरूको विश्वास छ।
सीमा सुरक्षामा खटिएका निकायबाटै राजस्व चुहावट भइरहेको आरोपले राज्यको सुरक्षा प्रणाली र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। अब यस विषयमा गृह मन्त्रालय, सशस्त्र प्रहरी बलको मुख्यालय तथा नेपाल प्रहरीको उच्च तहले कस्तो कदम चाल्छ, स्थानीयले चासोपूर्वक हेरिरहेका छन।

















