काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् ।

शनिबार सल्यानमा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आउनेक्रममा सल्यान सल्लीबजारमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले कांग्रेसले देशलाई सम्हाल्ने जिम्मेवारी लिएको र पार्टीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
महामन्त्री थापाले नेपाली कांग्रेस देशकै ठुलो दल भएको र संंसदमा समेत प्रमुख भूमिका निर्वाह गरिरहेको उल्लेख गरे। उनले भने, ‘हामीले नै बनाएको संविधान, हामीले ल्याएको व्यवस्था हो। अहिलेको शान्तिपूर्ण अवस्थामा हामीले काम गर्न सकेनौँ भने अरूलाई दोष दिन मिल्दैन ।’
सबै दलसँग सहकार्य गरेर अघि बढ्ने कांग्रेसको योजनामा रहेको बताउँदै थापाले कांग्रेस सबै दलहरूसँग मित्रता कायम गर्दै पार्टीविरुद्ध फैलिएका भ्रम चिर्न केन्द्रित हुने बताए । उनले भने, ‘हामी सरकारमा छौँ, सरकारलाई सफल बनाउन गठबन्धन दलहरूसँग सहकार्य गर्छाैँ। सरकारबाहिर रहेका दलहरूसँग पनि संवाद राख्छौँ।’
महामन्त्री थापाले कांग्रेसको नेतृत्वमा देशलाई तीव्र विकासको दिशामा लैजाने योजना रहेको बताए । हामी बेरोजगारी घटाउन चाहन्छौँ, शिक्षा र स्वास्थ्य सुधार गर्न चाहन्छौँ, आमनागरिकको आयस्तर वृद्धि गर्ने उद्देश्यसहित अघि बढिरहेका छौ,’ उनले भने ।