काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले क्रान्तिको सपना देखाएर रोल्पाली जनतालाई ढाँट्ने काम भएको बताउनुभएको छ ।
नेकपा एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई लिबाङमा सम्बोधन गर्दै ज्ञवालीले क्रान्तिको सपना देखाएर जनतालाई ढाँटिएको बताउनुभयो । यसमा रोल्पाली जनता भ्रममा पर्न आवश्यक नरहेको उहाँले प्रष्ट पार्नुभयो ।
ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाएका दिनुभयो । दश वर्ष चलेको द्वन्द्वले विकास गर्यो कि विनाश भन्ने विषयको गम्भीर समीक्षा गर्न उहाँले आग्रह गर्नुभयो । ‘जनताको अवस्था फेरिएन, नेताको मात्रै जीवन स्तर उकासियो’, उहाँले भन्नुभयो ।
द्वन्द्वबाट स्थापित भएका नेता र उनका छोराहरू सुन तस्करीमा जोडिनु रोल्पाली जनताको सपनामाथि कुठाराघात भएको ज्ञवालीले बताउनुभयो । ‘दश वर्षे द्वन्द्व के नेता र नेताका छोरालाई सुन तस्करीको लाइन मिलाउन थियो ? द्वन्द्वले रोल्पालाई के दियो भन्दा सुनैसुनका घर दियो भनेर व्यङ्ग्य गर्ने बेला आयो, यो विडम्बना हो’, ज्ञवालीले भन्नुभयो ।