काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई चेकिंग बोर्ड प्रदान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पोशराज पोखरेललाई करिब १८ लाख रुपैयाँ बराबरको १९० थान चेकिंग बोर्ड हस्तान्तरण गरेका हुन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागी ट्राफिक प्रहरीले गर्ने चेकिंगलाई थप व्यवस्थित र सुरक्षित बनाउन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ट्राफिक चेकिंग बोर्ड प्रदान गरिएको बताए ।
उक्त बोर्डको निरन्तर प्रयोग र थप उपयोगी बनाउन आगामी पाँच वर्षसम्म आवश्यक मर्मत संभार समेत यस कम्पनीले गर्ने प्रतिबद्धता जाहेर गर्दै आगामी दिनमा ट्राफिक व्यवस्थापनका क्षेत्रमा आवश्यक सहकार्य र सहयोग गर्न कम्पनी तत्पर रहेको समेत जानकारी गराइको विज्ञप्तिमा उल्ल्ेख छ ।
कम्पनीले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने पराजुलीले बताए ।
त्यस अवसरमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पोखरेलले कम्पनीले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । यस सहयोगले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनिकरण गर्नुका साथ साथै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन मद्दत पुग्ने उनले बताए । आगामी दिनमा पनि सहकार्य गर्दै ट्राफिक तथा सडक सुरक्षासँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने उनको भनाइ थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !