सिराहा । सिराहामा महिलासँगै होटेलमा बास बस्न गएका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको मिर्चैया नगरपालिका– ६ कटारी चोकस्थित ओखलढुंगे गिरी होटल एण्ड गेस्ट हाउसमा बुधबार करिब १२ बजेतिर एक महिलासँगै बास बस्न गएका कल्याणपुर नगरपालिका– २ का करिब ४० वर्षीय मुकेश प्रसाद कर्णको मृत्यु भएको हो ।
घटनाको जानकारी पाउने बित्तिकै पुगेको प्रहरीले महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । महिलाको विषयमा प्रहरीले थप खुलाएको छैन । मृतक पुरुषको पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ । शव स्थानीय स्वास्थ्य संस्थामा राखिएको छ ।
महिलासहित उनी होटलमा बास बस्ने गरी आएर कोठा लिएका थिए । कोठामा पुरुष अचेत भएपछि महिलाले आत्तिँदै तल झरेर खबर गरेको होटलका सञ्चालक विजय यादवले बताएका छ्न ।
सञ्चालक यादवले महिला आए लगत्तै आफूहरु सबै जना गएर उनलाई हेर्दा बेहोस अवस्थामा फेला पारेका थिए । तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्याएपछि स्वास्थ्यकर्मीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !