सुनसरी । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले आज आसरा सुधार केन्द्र पानवारी धरानको अवलोकन भ्रमण गर्नु भएको छ ।

सुधार केन्द्रको भौतिक संरचना, मेश लगायतको अवलोकन गर्नु भई वाहाँले संचालक समिति तथा कार्यरत कर्मचारीहरुसंग समेत आवश्यक छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।





छलफल तथा अन्तरक्रियाको क्रममा वहाँले आसरा सुधार केन्द्र पानवारी धरान, हाल सुविधा सम्पन्न भौतिक पूर्वाधार सहित संचालनमा रहेको र यसलाई अझ सुबिधा सम्पन्न बनाउदै उत्कृष्ट सुधार केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्य अनुरुप यस केन्द्रका संचालक समिति लगायतका सम्पुर्ण पदाधिकारीहरुले गर्नु भएको योगदानको कदर गर्नु हुदै सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।




आसरा सुधार केन्द्रले उपचाररत सदस्यहरुलाई विभिन्न उपचार पद्धतीद्वारा मनोबल र आत्मबल अभिवृद्धि गरि लागू पदार्थ प्रति वितृष्णा उत्पन्न गराउने र दुर्व्यसनको खराब लत छुटाई समाजमा पुनः स्थापित गराउने महत्वपुर्ण जिम्मेवारी पुरा गर्ने कार्यमा पूर्ण सफलता प्राप्त गर्नेमा आफु बिश्वस्त रहेको बताउनु भयो । वहाँले एक्लो प्रयासबाट लागुऔषधको प्रयोग नियन्त्रण गर्न सम्भव नहुने हुँदा यसका लागी साझा प्रयासको आवश्यकता रहेको बताउनु भयो ।


उक्त कार्यक्रममा सुधारकेन्द्रमा उपचाररत सदस्यहरुसंग अन्तरक्रिया गर्नुको साथै वहाँहरुबाट उठेका जिज्ञासाहरुको सुनुवाई समेत गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक मनोज कुमार यादव, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला तथा संघका पदाधिकारीहरु, संचालक समितिका पदाधिकारीहरु, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया !