काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबई पठाईदिन्छु भन्दै लाखौ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा चौबिस गाउँपालिका-१ घर भइ हाल काठमाडौंको बाफल बस्ने ३४ वर्षीय लक्ष्मण श्रेष्ठ रहेका छन् ।पक्राउ परेको श्रेष्ठले विवेक पाटकलाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि दुबई पठाई दिने भन्दै १ लाख ९५ हजार ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
श्रेष्ठ ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई आज नयाँ बसपार्कबाट पक्राउ गरेको छ ।पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

















