विराटनगर । मोरङको धनपालथान गाउँपालिका- २ बाट शुक्रबार राति भारतीय नम्बर प्लेटको सवारी साधनमा कटुवा पेस्तोल र गोलीसहित सवार लुटेरा समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार सवारी चालक सर्लाही हरीपुर्वा– ७ का २७ वर्षीय रविन्द्रकुमार यादव, २० वर्षीय कमलेशकुमार यादव र महोत्तरी गौशाला– ६ का २२ वर्षीय रामदयाल यादवलाई पक्राउ गरिएको छ ।उनीहरूको भारतीय आपराधिक गिरोहसँग समेत सम्बन्ध देखिएको प्रहीले जानकारी दिएको छ । उनीहरू चाडबाडको मौकामा लुटपाट गर्न सीमावर्ती मोरङ क्षेत्रमा प्रवेश गरेको सुरुवाती अनुसन्धानबाट खुलेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
चाडपर्व सुरक्षा विशेष कार्य योजना अनुसार खटिएको प्रहरीको गस्ती टोलीले राति साढे ९ बजे धनपालथानको अमाहीबरियाती बस्तीको भित्री सडक खण्ड छेउबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । रोकेर राखेको भारतको बिहार राज्यको बीआर ०६ पीए १३६२ नम्बर प्लेटको स्कारपियो जिपलाई शंका लागि चेकजाँच गर्दा ड्यासबोर्डभित्र लुकाएर राखिएको एक थान पेस्तोल र ३ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !