काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले वित्तीय अपराध ब्युरो स्थापना गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा आईजीपी कुँवरले यस्तो बताएका हुन् । आईजीपी कुँवरले वित्तीय अपराध नियन्त्रणका लागि राज्यले कदम चाल्नुपर्ने बताए। पछिल्लो समय नेपाल प्रहरीमा पर्ने उजुरीमध्ये २५ प्रतिशत वित्तीय अपराधसँग सम्बन्धित भएकाले उक्त ब्युरोको आवश्यकता देखिएको आईजीपी कुँवरले बताए।
आईजीपी कुँवरले भने,’नेपाल प्रहरीमा पर्ने मुद्दामध्ये २५ प्रतिशत मुद्दा आर्थिक अपराधसँग सम्बन्धित छन् । वित्तीय अपराधलाई सम्बोधन गर्नका लागि वित्तीय अपराध ब्युरो स्थापना गर्नुपर्छ भनेर प्रस्ताव गरेका छौं। प्रहरीले साइबर अपराधका लागि रणनीति बनाएर अगाडि बढाएको छ । सातवटै प्रदेशमा साइबर अपराध प्रतिकार गर्ने ब्युरो गठन गर्ने तयारीमा छौं।’
साइबर अपराधका मुद्दा पनि बढिरहेको आईजीपी कुँवरको भनाई छ । उनले त्यसलाई सम्बोधन गर्नका लागि प्रत्येक प्रदेशमा साइबर ब्युरो गठन गर्ने तयारी भइरहेको बताए।
महानिरीक्षक कुँवरले हाल नेपाल प्रहरीबाट एक हजार २ सय सुरक्षाकर्मी विशिष्ट व्यक्तिको कार्यालय सहयोगी, ड्राइभरदेखि पीएओका रूपमा खटिइरहेका बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !