काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन् । आव २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको सोमबार जवाफ दिँदै अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार बढी भएको बताएका हुन् ।

संसद उठेका विषयमा जवाफ दिँदै उनले भने, ‘यो कार्यक्रममा बजेटको सीमितता छ । भौतिक पूर्वाधारको निकै माग छ । यस्तो बेलामा निर्वाचन क्षेत्रमा नभई नहुने पूर्वाधार आयोजनामा कम्तीमा १ करोड रुपैयाँका दरले बजेट जाँदा पूर्वाधार विकासमा सहयोग पुग्यो । यो पुँजीगत खर्च नै हो ।’ कम्तीमा १ करोड घटीको बजेटमा ठेक्का नलाग्ने र ठेक्का लगाउने काम सम्बन्धित मन्त्रालय कै उनले प्रस्ट पारे ।
‘माननीयले त सिफारिस मात्रै गर्ने हो । सिफारिस पनि गर्न नपाउने कुरा जायज होइन’ उनले भने । निर्वाचन क्षेत्रमा निर्वाचित, समानुपातिक लगायत सबै मिलेर योजना छनौट गर्ने कार्यविधि समेत बन्ने उनको भनाई थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !