काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लागेको भ्रष्टाचारको आरोपसम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ ।

‘कोभिड संकटको बेला भित्र्याइएको स्वास्थ्य सामग्रीमा २ अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी चढाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचार’ भन्ने माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले ओलीविरुद्ध संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाइएको हो ।
आज (शनिबार) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेलेले सांसद दाहालले दिएको सो अभिव्यक्तिसहितको शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । गत जेठ १० गते सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद दाहालले प्रमुख प्रतिपक्षी दलका नेता ओलीमाथि आरोप लगाउँदै सो अभिव्यक्ति दिएका थिए । यसै विषयलाई लिएर एमालेले शुक्रबार संसद बैठक अवरुद्ध पारेको थियो ।
सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरु मिति २०८० जेठ १० गते आर्थिक वर्ष २०८०÷८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेक्रममा माननीय सदस्य श्री लेखनाथ दाहालले प्रयोग गर्नु भएको विचारहरु भित्र स्वास्थ्य सामग्रीको २ अर्वको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु भन्ने शब्द संसदको अभिलेखबाट हटाउन म संसद सचिवालयलाई निर्देशन गर्दछु ।’
एमालेले सांसद दाहालको सो अभिव्यक्तिबारे सरकारले जवाफ नदिएसम्म संसद बैठक सुचारु हुन नदिने अडान लिँदै आएको थियो । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसद दाहालको सो अभिव्यक्ति उचित नभएको बताएपछि एमालेले संसद बैठक सुचारु हुन दिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !