काठमाडौं । सरकारले आज (शुक्रबार) वसन्त कुँवरलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अडान पछि सरकारले न्यायपूर्ण निर्णय लिएको छ ।

प्रहरी महानिरीक्षक सिंह र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अडान पछि पहिलो नम्बरमै रहेका कुँवरलाई सरकारले आईजीपी नियुक्त गरेको हो ।
एसएसपीमा १३ औं नम्बरमा रहेका कुँवर डिआइजी र एआइजीमा पहिलो नम्बरमा बढुवा भएका थिए । त्यसमा हालका महानिरीक्षक धिरजप्रताप सिंहको प्रमुख भूमिका थियो । दुवै बढुवामा सिंहले नै उनको पक्षमा अडान लिएका थिए । सिंह बसन्तलाई नै भावी महानिरीक्षक बनाउन चाहन्थे । जसमा उनी सफल भएका छन् ।
डीआईजी हुँदा समेत एक नम्बरमा रहेका कुँवर केही दिन अगाडिको एआईजी बढुवामा पनि पहिलो नम्बरमै रहेका थिए । कुँवरसँगै एआईजीमा बढुवा भएका टेकप्रसाद राई, दीपक थापा, श्याम ज्ञवाली र किरण बज्राचार्य आईजीपीको दौडमा थिए ।
प्रहरी महानिरीक्षक दौडधुपमा श्यामलाल ज्ञवाली अगाडि थिए । स्रोतका अनुसार गृह मन्त्रालयले २६ फागुनमा ५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्दा समेत प्रधानमन्त्री दाहालले वरियतामा चौथो नम्बरमा रहेका ज्ञवालीबारे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसँग चासो राखेका थिए ।
तर प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले वरियता अनुसारै बढुवा गर्नुपर्ने अडान राखेको स्रोतको दाबी छ । ‘प्रधानमन्त्रीज्यूले डीआईजी ज्ञवालीलाई अगाडि ल्याउन सकिने अवस्था छ भनेर सोध्नुभएको थियो’, यसबारे जानकार एक प्रहरी उच्च अधिकृतले भने, ‘अहिले विवाद पनि भइरहेको छ, मेरिटवाइज गर्दै ठिक हुन्छ भन्ने जवाफ आईजी सा’बको थियो । त्यसपछि प्रधानमन्त्रीज्यूले केही भन्नुभएन ।’
यसपटक पनि तेस्रो र चौथो वरीयतामा रहेकाहरुलाई आईजीपी बनाउने प्रयास भएको थियो । तर, सत्ता समीकरणमै समस्या उत्पन्न हुने भएपछि सरकारले पहिलो वरीयताकै कुँवरलाई आईजीपी नियुक्त गरेको हो ।
स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले कुँवरलाई आईपीजी नियुक्त गर्न प्रधानमन्त्रीलाई दबाब दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !