जनकपुरधाम । नेकपा एमालेका मधेस प्रदेशसभाका सांसद दिपेन्द्र ठाकुरले जनकपुर यातायात कार्यालयमा मासिक १० करोड रुपैयाँ भ्रष्टाचार हुने गरेको बताएका छन् ।ठाकुरले भ्रष्टाचारको अन्त्य गर्न नेकपा एमालेका सांसद दीपेन्द्रकुमार ठाकुरले माग गरेका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै ठाकुरले लाइसेन्स वितरणमा भ्रष्टाचार भइरहेको आरोप लगाएका हुन् । ‘जनकपुर यातायात कार्यालयमा ७७ वटै जिल्लाका मान्छे सवारी चालक अनुमति पत्र लिन आउँछन् ।
उनले भने, ‘सवारी लाइसेन्सका लागि कम्तिमा २० हजार रुपैयाँ घुस लिने गर्छन् । हरेक महिना ५ हजार लाइसेन्स वितरण हुन्छ । यसरी हिसाव गर्दा मासिक १० करोड भ्रष्टाचार भइरहेको छ ।’
बिना घुस कुनै पनि हालतमा लाइसेन्स बनाउन नसकिने अवस्था रहेको उनले बताए । सवारी लाइसेन्समा व्यापाक भ्रष्टाचार भइरहेको भन्दै नियन्त्रण गर्न प्रदेश सरकारसँग माग गरे ।
यस अघि हेभी सवारीसाधन चालकको परीक्षामा यातायात व्यवस्था कार्यालय वीरगन्जमा फेल भएका ६२ जनालाई यातायात व्यवस्था कार्यालय जनकपुरले मध्यरातमा पास देखाएर लाइसेन्स बाँडिएको खुलासा भएको थियो ।
यातायात व्यवस्था कार्यालय वीरगन्जमा ‘जी’ समूह अर्थात हेभी सवारीको चालक अनुमतिपत्रका लागि फारम भरेर प्रयोगात्मक (ट्रायल) परीक्षामा फेल भएका ६२ जनालाई जनकपुरबाट मध्यराति पास देखाइएको थियो ।
यातायात व्यवस्था कार्यालय जनकपुरबाट ३ वर्षअघि निलम्बन भएका कर्मचारीको यूजर (खाता) प्रयोग गरेर अवैध तरिकाले लाइसेन्सका लागि पास देखाइएको थियो । सामान्य इन्टरनेटबाट सञ्चालन नहुने यातायात सर्भरको ईडीएलभीआरएस सफ्टवेयरमा मध्यराति रिजल्ट अपडेट गरिएको मधेस प्रदेशको भौतिक पूर्वाधर विकास मन्त्रालयले जनाएको छ ।
वीरगन्जमा फेल भएकालाई रातिको समयमा जनकपुर कार्यालयबाट सर्भरमा सवारी चालकको लाइसेन्स परीक्षामा उत्तिर्ण गराई लाइसेन्स दिइएको थियो ।

















