काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सरकारका कामकारबाहीबारे पनि छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकमा सरकारका काम कारबाहीबारे पनि छलफल भएको हो ।

बैठकमा मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा पनि छलफल भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । बैठकमा संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए ।
संयन्त्रको बैठकमा सरकारमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेको छ । केही दिनअघि सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई गरेको समर्थन भने कायम राखेको छ ।
रास्वपा सरकारबाट बाहिरिनु र गठबन्धन घटक नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा बिहीबार एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको छ । सरकारको कामको समीक्षासमेत गरिएको बैठकमा राष्ट्रपति निर्वाचनसहित समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । बैठकबाट बाहिरिने क्रममा राप्रपा अध्यक्ष लिङ्देनले अहिलेसम्म सरकारले गरेका कामको समीक्षा गरिएको जानकारी दिए ।

















