काठमाडौं । नेपाली कांग्रेसका सांसद वद्री पाण्डेले संविधानको मर्मलाई आत्मासाथ गर्ने हो भने मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा विजयी गराउनुपर्ने बताएका छन् । शनिबारको संसद् बैठकमा मुक्तकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्दै उनले कांग्रेसले उठाएको उमेदवारालाई मत दिएर विजयी गराउन अनुरोध गरे ।

‘संविधानको शब्द र त्यसको आशय हेरौं । हाम्रो संविधानले फरक दल भनेको छ । यसको आशय बुझौं,’ उनले भने, ‘सत्ता गठबन्धनबाट सभामुख विजयी भएपछि प्रतिपक्षबाट उपसभामुख हुनुपर्छ ।’
उनले पाइलटको रुपमा सभामुख हुने भए कोइपाइलटको रुपमा यादवलाई विजयी गराउन सके सदन राम्ररी चलाउन सकिने उल्लेख गरे । साथै उनले समावेशीता भनेको भूगोल पनि भएकाले झापा जिल्ला एकै निर्वाचत क्षेत्र र एकै नगरबाट भन्दा पनि फरक परिवेशबाट उपसभामुख विजयी गराएर भौगोलिक विविधता र समावेशीताको नमुना प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
‘मधेस पनि आफैँमा पिछडीएको क्षेत्र हो । उहाँ पनि पिछीडएको वर्गमा पर्नुहुन्छ । अनुभवी व्यक्ति हुनुहुन्छ संसदीय अभ्यासभित्र । संविधानसभामा सहभागी हुँदै संविधान निर्माणमा समावेशी र समानुपातिक संविधान बनाउन उहाँको भुमिका छ,’ उनले भने, ‘उहाँसँग राष्ट्रियसभामा बसेर काम गरेको अनुभव छ ।
अर्थात् दुबै सदनको भूमिका खेल्नुभएको छ । पार्टीमा ८० प्रतिशत मत ल्याएर विजयी हुनु मात्र भएन शिक्षण पेशा र प्रधानन्याधपक भएर काम गर्नुभएको छ । उहाँ योग्य र अनुभवी हुनुहुन्छ ।’

















