काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजिपी ) धीरजप्रताप सिंहले हालै सरुवा भई जान लागेका प्रहरी नायब महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा आवश्यक निर्देशन–सम्बोधन गरेका छन्।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउलगायत पुराना टुंगोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए। आर्थिक रूपमा पारदर्शिताको नीतिलाई अवलम्बन गर्दै तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्नसमेत उनले आग्रह गरे।
कार्यक्षेत्रमा गरेको कामको मूल्यांकनका आधारमा प्रहरी अधिकृतहरूको पदोन्नति हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आफूले गरेको कामको मूल्यांकन सापेक्ष रूपमा देखिने गरी तथ्यांकनमा हुनुपर्ने र त्यही नै आफ्नो कामको जावफदेहिता रहने हुँदा सोहीअनुरूप कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिए। योग्यताको आधारमा जिम्मेवारी दिइएको बताउँदै उनले प्रहरी अधिकृतहरूले उत्कृष्ट रूपमा आफ्नो जिम्मेवारी पूरा गर्ने अपेक्षा राखिएको उल्लेख गरे।
नेपाल सरकारले अंगीकार गरेको समृद्धिसहितको सुशासन एजेण्डालाई नेपाल प्रहरीले पनि प्राथमिकतामा राखेको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रदेश सरकार एवं स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरी आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताए। प्रहरीको आचरण एवं व्यवहारलाई थप सुदृढ गर्दै लैजानुपर्ने र आफ्नो मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उत्प्रेरित गर्दै उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूलगायतको उपस्थिति रहेको थियो।

















