काठमाडौं । साझा यातायातका बिजुली बस चल्दै नचली थन्किएका छन् । साझा यातायातले दोस्रो चरणमा चीनबाट आयात गरेका ३७ ओटा बिजुली बस सञ्चालनमा ढिलाइ भएको छ । यसअघि तिहारलगत्तै आयात गरिएका सबै बसको परीक्षण गरेर सञ्चालनमा ल्याउने भनेको साझाले अहिलेसम्म पनि बस चलाउन सकेको छैन ।

५७ करोड लागतमा साझाले खरिद गरेका ३७ वटा बिजुली बस साढे २ महिनादेखि थन्किएका हुन् । साझाले ४० ओटा बिजुली बस सञ्चालन गर्ने लक्ष्य लिएकोमा तीनओटा गुडाउन थालिसकेको छ । बाँकी ३७ ओटा बस चीनबाट ल्याएर भक्तपुरस्थित राधेराधेमा राखिएको छ ।
प्रतिबस १ करोड ५५ लाखका दरले चीनको सीएचटीसी अटोमोबाइल्स कम्पनीसँग खरिद गरिएका बस पार्किङमै राखिएका छन् । २० वटा बस बनेपामा र १७ वटा बस भक्तपुरको राधेराधेमा राखिएका छन् । कार्तिकमा चीनबाट स्थलमार्ग हुँदै २० दिन लगाएर काठमाडौँ ल्याइएका हुन् । त्यस्तै, साझाले किनेका २० मध्ये १८ वटा चार्जर पनि राख्ने ठाउँको अभावमा प्रयोगविहीन भएका हुन् ।
हाल साझाको चार्जिङ स्टेशनमा पुल्चोकमा मात्रै छ । पुल्चोकमा २ वटा चार्जर छन् । चल्दै नचली थन्किएका साझाका ३७ वटा बस चलाउन थप १८ वटा चार्जिङ स्टेशन चाहिन्छ । साझासँग चार्जर भएपनि जडान गर्ने उपलब्ध नहुँदा गाडीहरु चल्दै नचली थोत्रिने खतरा बढेको छ ।
साझाले चार्जरहरु जडान गरेर चार्जिङ स्टेशन बनाउन आवश्यक जग्गा उपलब्ध गराइदिन माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणमा अनुरोध गरेको छ । साझाले बानेश्वरस्थित पुरानो ट्रली बस राखिएको स्टेशन उपलब्ध गराउन माग गरेको थियो । तर, मन्त्रालय त्यहाँको जग्गा उपलब्ध गराउन तयार भएन ।
हाल साझाले परीक्षणका लागि ३ वटा विद्युतीय बस चलाइरहेको छ । २ वटा बस रत्नपार्क–ठमेल–नयाँ बसपार्क–एयरपोर्ट रुटमा चल्छन् भने एउटा बस लगनखेल–रत्नपार्क–बुढानीलकण्ठ रुटमा चल्छ । एउटा चार्जिङ स्टेसन राख्न ६० देखि ७० लाख रुपैयाँ लाग्छ । एउटा स्टेशनबाट एक पटकमा २ वटासम्म बस चार्ज गर्न मिल्छ । एउटा गाडी फुल चार्ज गर्न ४ घन्टासम्म लाग्छ ।
एकपटक फुल चार्ज गरेपछि १२ घन्टासम्म गाडी गुड्न सक्छ । साझा यातायातका कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले साझाको मापदण्डअनुसार बस बनेका छन् कि छैनन् वा बसमा केही खराबी छ कि भनेर चेकजाँचको काम भइरहेको बताए । उनका अनुसार बस चेकजाँचमा ढिलाइ भएकाले भनेको समयमा सञ्चालन गर्न नसकिएको हो । सबै बसको परीक्षण तथा चेकजाँच भइसकेपछि साझाले आयातकर्ता कम्पनीसँग बस लिन्छ र रूट परमिट निश्चित भएपछि काठमाडौं साझा थप विद्युत् बस उपत्यकामा गुुड्न थाल्नेछन् ।
साझाले चीनको नानजिङस्थित सीएचटीसीएचओ कम्पनीको कारखानामा तयार भएका बस करीब ६१ करोड रुपैयाँमा किनेको हो । २५ सीट क्षमताका बिजुली बसमा वाइफाई, टीभी, डिस्प्ले, सीसी क्यामेरालगायत विशेषता पनि हुने साझाको भनाइ छ । अहिले साझाले ७१ ओटा ठूला बसमार्पmत सेवा दिइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !