काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा नजाने भएको छ।

प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’लाई समर्थन गरेको जसपाले बैठक बसेपछि यसबारेमा निष्कर्ष निकाल्ने जनाएको छ।
जसका लागि पुस १८ र १९ गते जसपाले बैठक बोलाएको छ। उक्त बैठकले सरकारमा जाने नजानेबारे छलफल गर्नेछ।आइतबार जसपासहित सात दलले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए। प्रधानमन्त्री प्रचण्डले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन्।
तीन उपप्रधानमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहेका छन्।पौडेलले अर्थ मन्त्रालय, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।
मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन्। उनीहरुको जिम्मेवारी पछि तोकिने छ।

















