काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनको लागि आज भएको निर्वाचनको मतदान सकिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको मतदान सकिएको हो ।

८८ जना सांसदले मतदान गरेका छन् । सिहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजे १० बजेसम्म मतदानको समय तोकिएको थियो । सांसद माया राई सुत्केरी भएर अस्पतालमा रहेकाले उनलाई त्यहीबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।
कांग्रेसका ८९ जना सांसद भए पनि टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् । बुथमा मोबाइल लैजान दिनेरनदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको थियो । मोबाइल लैजान नदिने सहमति भएसँगै मतदान सुरु भएको थियो ।
कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा सिधा स्पर्धामा उत्रिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ७८ वर्षीय देउवा र ४६ वर्षीय थापाले मंगलबार सँगै उम्मेदवारी दर्ता गराएका थिए ।

















