काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका-५ घलाटेमा सञ्चालित सुवाल इन्टरनेशनल कलेजले सम्बन्धित निकायबाट स्वीकृति तथा सम्बन्धन नलिएको पुष्टि भएको छ ।

बिना स्वीकृति तथा सम्बन्धन सञ्चालन भएको उजुरी परेपछि महानगरीय प्रहरी परिसर भक्तपुरले अनुसन्धान गर्दा सम्बन्धित निकायहरुबाट सम्बन्धन तथा अनुमति नलिएको पाईएको परिसरका प्रवक्ता डीएसपी राजु पाण्डेले बताए ।उनले भने, ‘हाम्रो अनुसन्धानमा सम्बन्धित निकायबाट अनुमति तथा सम्बन्धन नलिएको देखियो । त्यसैले अब यो ठगी हो । अब त्यहि अनुसार मुद्दा अगाडी बढिरहेको छ ।’
उजुरी परेपछि परिसरले कलेजको प्रिन्सिपल भनिएका डा.प्रकाश सुवाललाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको थियो । अहिले उनीविरुद्ध ठगी मुद्दा अगाडी बढाइएको परिसरले जनाएको छ। कलेज पढाउने नाममा कत्ति जना विद्यार्थीबाट, के कत्ति शुल्क लिएको छ भन्ने अनुसन्धान भईरहेको परिसरले जानकारी दिएको छ ।कलेजले पीसीएल नर्सिङ, एचए, फार्मेसी पढाउने भनेर ६० हजारदेखि डेढ लाखसम्म शुल्क उठाएको विद्यार्थी तथा अभिभावकले जानकारी दिएका थिए । करिब २५० विद्यार्थी भर्ना भएको विद्यार्थीहरुले बताएका छन् ।
कलेजले वेबसाइटमा एमबीबीएस, बीडीएस लगायत चिकित्सा शिक्षाका विभिन्न विधा अध्यापन गराउने उल्लेख गरेको छ । भर्ना भएका विद्यार्थीका लागि कलेजले तीन वटा होस्टल समेत सञ्चालनमा ल्याएको पाईएको छ ।कलेजको विषयमा समाचार बाहिर आएपछि चिकित्सा शिक्षा आयोग, प्राविधिक क्षिक्षा तथा व्यावसायीक तालिम परिषद (सीटीईभीटी)ले विद्यार्थी तथा अभिभावकलाई भर्ना नगर्न÷नगराउन सूचना जारी गरेको छ । साथै त्रिवि पाठ्यक्रम विकास केन्द्रले समकक्षता नदिने सूचना मार्फत स्पष्ट गरेको छ ।
सीटीईभीटी अन्तर्गतको शैक्षिक कार्यक्रम सञ्चालनको लागि कम्तिमा १०० शय्याको र चिकित्सा शिक्षा तर्फ स्नातक तहको पठनपाठन गराउन ३०० शय्याको अस्पताल चाहिन्छ जुन सुवलसँग छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !