चितवन । चितवन क्षेत्र नम्बर ३ मा काँग्रेसबाट बागी उम्मेद्वारी दिएका दिनेश कोइरालाले आफू काँग्रेस कार्यकर्ताको आधिकारीक उम्मेदवार भएको बताएका छन् ।

शुक्रबार चितवनमा आयोजित पत्रकार सम्मेलनका कोइराला आफूलाई यस क्षेत्रका जनता र काँग्रेस कार्यकर्ताको साथ भएकाले आफू नै काँग्रेसको आधिकारीक उम्मेदवार भएको बताएका हुन् ।चितवनमा काँग्रेस नफुट्ने उनको भनाइ छ । कार्यक्रममा उनले एमाले प्रवेश नगर्ने स्पष्ट पारे ।
उनले भने, ‘मेरो उम्मेदवारी बागी होइन । मुल धार नै हामी हो । नेपाली काँग्रेस र यो समाजको मुल धार हामी हो । मलाई काँग्रेसका कार्यकर्ता र यहाँका जनताको साथ छ । म नै आधिकारीक उम्मेदवार हुँ । हामी काँग्रेसको हित चाहनेहरु एकै ठाउँ छौँ ।’ कोइरालाले सत्ता गठबन्धन व्यक्तिगत स्वार्थमा केन्द्रित भएको समेत आरोप लगाए ।
साथै उनले चितवनको समृद्धि र विकासका लागि आफूले यस क्षेत्रबाट उम्मेदवारी दिएको बताए । शिक्षा, स्वास्थ्य लगायत पूर्वाधार विकासका लागि चितवनमा धेरै काम गर्न बाँकी रहेको भन्दै कोइरालाले आफूले यी सबै काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
काँग्रेस केन्द्रिय सदस्य समेत रहेका कोइरालाले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । उनलाई नेकपा एमालेले समर्थन गरेको छ । गठबन्धनको तर्फबाट यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् ।

















