काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार बस्यो ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा ३० वैशाखमा एकै चरणमा मुलुकभर सम्पन्न स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापनबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
बैठकले निर्वाचन एकै चरणमा शान्तिपूर्णरूपमा सम्पन्न गर्न अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी, राष्ट्रसेवक कर्मचारीलाई धन्यवाद व्यक्त गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
निर्वाचन गराउने सिलसिलामा घाइते भएका सुरक्षाकर्मी तथा कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, निर्वाचनमा खटिएका बेलामा मृत्यु भएका नेपाल प्रहरी र म्यादी प्रहरीका परिवारमा दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामनासहित बैठकले संवेदना व्यक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम निर्वाचनका क्रममा खटिँदा घाइते भएका सुरक्षाकर्मीलाई उपचार खर्च र मृत्यु भएकाको परिवारलाई राहत दिने प्रक्रिया सुरु गर्न सम्बन्धित निकायमा लेखी पठाउने निर्णय बैठकले गरेको छ । स्थानीय तह निर्वाचनका क्रममा खटिएका पाँच म्यादी प्रहरी र एक प्रहरीको मृत्यु भएको थियो ।
मन्त्रिपरिषद् बैठकले निर्वाचनमा खटिएका बेला मृत्यु हुने सुरक्षाकर्मी र म्यादी प्रहरीका परिवारलाई जनही २० लाख दिने र घाइतेको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो ।
एकै चरणमा सीमित स्रोत र साधनको उपयोग गरेर छिटफुट घटनाबाहेक शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न हुनु महत्वपूर्ण रहेको गृहमन्त्री खाणले सुरक्षा समिति बैठकमा बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !