पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन् । उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई अपिल गरेका छन् ।

पाकिस्तानमा दुई सदनात्मक संसदीय व्यवस्था छ । तल्लो सदनलाई राष्ट्रिय सभा भनिन्छ भने माथिल्लोलाई सिनेट भनिन्छ । आफूविरुद्धको अविश्वासको प्रस्ताव आएसँगै खानले तल्लो सदन ३४२ सदस्यीय राष्ट्रिय सभा विघटन गरेर चुनावमा जाने घोषणा गरेका हुन् । उनले भने, ‘देशका जनताले चुनावको तयारी गर्नुपर्छ ।
यसको भाग्यको निर्णय गर्ने अधिकार अरु कसैलाई छैन, यहाँका जनताले निर्णय गर्नेछन् ।’ इमरानले भने, ‘आज उप–सभामुखले जो अविश्वास प्रस्ताव खारेज गरेका छन् । यसका लागि म सम्पूर्ण समुदायलाई बधाई दिन्छु । हिजोदेखि सबै तनावमा थिए । मलाई सोधिरहेका थिए तर मैले उनीहरुलाई नडराउन भनिरहेको थिएँ ।’ ‘
सभामुखले आज आफ्नो संवैधानिक शक्ति प्रयोग गरी लिएको निर्णयपछि मैले व्यवस्थापिका–संसद् विघटन गर्ने निर्णय राष्ट्रपतिलाई बुझाएको छु ।’ यसअघि पाकिस्तानको राष्ट्रिय सभामा विपक्षीको अविश्वासको प्रस्तावलाई उपसभामुखले संविधानको धारा ५ को उल्लङ्घन भएको भन्दै खारेज गरिदिएका थिए ।

















