काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच पनि प्रतिनिनिधि सभा बैठक अघि बढाइएको छ । बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता छलफलका लागि अघि बढिसकेको छ ।

माओवादी नेता देव गुरुङपछि एमाले नेता डा. भीम रावलले आफ्नो धारणा प्रस्तु गरेका छन् । नेता गुरुङले एमसीसी राष्ट्रघाती भएको र संसद्बाट अनुमोदन गरेर ऐन बनाउने काम आपत्तिजनक रहेको बताए । र, संशोधनबिना अघि बढाउन नसकिने पार्टीको धारणा रहेको अवस्थामा गठबन्धनको बीचमा एमसीसी संशोधनलाई आकर्षित गर्ने तरिकाले अघि बढ्न लागेको सुनिन आएको उनले बताए ।
गुरुङपछि एमाले नेता डा.रावलले विरोधका बीच एमसीसी अनुमोदन गर्नु आपत्तिजनक रहेको बताए । उनले केही नेताहरुको स्वार्थका लागि एमसीसी अघि बढाउन लागिएको आरोप लगाए ।
उनले भने, ‘दर्जनौँ प्रावधान देशको अहितमा छ । एमसीसी पास भए विद्युत् प्रसारण लाइनको जग्गा अमेरिकाको अधिनमा रहन्छ । एमसीए नेपाल एमसीसीप्रति पूर्ण हुनेछ । एमसीसीमा नेपालको कुनै भूमिका नहुने । नेपाल सरकारले आयोजनामा कसैलाई ल्याउनुपरेमा आफूअनुकूल गर्न पाउँदैन ।’

















