चितवन । चितवनमा निर्माणाधीन नालीको खोँचमा परेर गैँडाको मृत्यु भएको घटनामा चितवन राष्ट्रिय निकुञ्जले ठेकेदार कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

सडक विस्तारका क्रममा खनिएको नालीमा परेर गैँडाको मृत्यु भएपछि निकुञ्जले छानबिन समिति गठन गरेको थियो। लगत्तै अनुसन्धानका लागि इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ गरेर सोधपुक्ष गर्न भन्दै पक्राउ पुर्जी जारी भएको हो।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जले अनुसन्धान गरिरहेको बताए। ‘हामीले अनुसन्धानका क्रममा बुझ्नुपर्ने मानिसलाई ल्याएर सोधपुक्ष लगायतका काम गर्छौं,’ उनले भने।
निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेर घटनाको अनुसन्धान गरिरहेको छ। गत आइतबार नालीको खोँचमा परेर गैँडा मरेको थियो। घटनालगत्तै वन तथा वातावरण मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य थिए।
उक्त समितिले पनि घटनाका बारेमा आवश्यक जानकारी लिइरहेको छ। चितवन राष्ट्रिय निकुञ्जमा वर्षेनी विभिन्न घटनामा परेर गैँडाको मृत्यु हुने गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !