काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले पूर्वमाओवादी र कम्युनिष्ट पार्टीहरूबीच एकताको खाँचो रहेको बताएका छन् । उनले पुराना माओवादीहरू एकजुट हुनुपर्छ, एकताबद्ध हुनुपर्छ भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेको भन्दै त्यसका लागि आफूहरू समेत सकारात्मक रहेको बताए ।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेता गजुरेलले त्यसका लागि महाधिवेशनले महत्वपूर्ण चार निर्णयहरू लिनुपर्ने सर्त राखे ।
‘नेपालका सबै माओवादी र कम्युनिष्टहरू एकताबद्ध हुनुपर्छ भन्ने कुरामा हामी सकारात्मक छौं, यदि साँच्चै नै पूर्वमाओवादीहरू एकताबद्ध हुने हो भने केही आधारहरू तयार गरौं, म सुझावको रुपमा यहाँ केही कुराहरू राख्न चाहन्छु, तपाईंहरूको महाधिवेशनमा यो कुरा उठोस्,’ उनले भने ।
नेता गजुरेलले महाधिवेशनले जनयुद्व सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकको निर्णय पुन:स्थापित गर्नुपर्ने बताए । ‘हामीले जुन लक्ष्य राखेर जनयुद्ध गरेका थियौं, अझै पनि त्यो अपुरो र अधुरो छ, नेपाललाई जनगणतन्त्र बनाउनका लागि तुरुन्तै अघि बढौं, यो महाधिवेशनले त्यो विषय पारित गरोस्,’ गजुरेलले अघि भने, ‘राष्ट्रिय स्वाधिनताका केही विषयहरू पनि तपाईंहरूले निर्णय लिनुभयो भने राम्रो हुन्छ । अहिले चर्चामा रहेको राष्ट्रघाती एमसीसी खारेज गर्ने निर्णय गरौं ।’
एकताका लागि गजुरेलले राखेका ४ सर्त :
-महाधिवेशनले जनयुद्व सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकले पारित गरेका निर्णय पुनस्थापित गर्नुपर्ने ।
-जुन लक्ष्य राखेर जनयुद्ध गरिएको थियो । अझै पनि त्यो अपुरो र अधुरो छ, नेपाललाई जनगणतन्त्र बनाउनका लागि तुरुन्तै अघि बढौं ।
-राष्ट्रिय स्वाधिनताका केही विषय पनि तपाईँहरूले निर्णय लिनुभयो भने राम्रो हुन्छ । अहिले चर्चामा रहेको राष्ट्रघाती एमसीसी खारेज गर्ने निर्णय गरौं ।
-नेपालले गुमाएका भूभाग नक्सामा पाए पनि वास्तविकतामा पाइएको छैन । यसका पनि पार्टीले निर्णय गरोस् ।
यदी यी निर्णय नेकपा ( माओवादी केन्द्र ) ले यस महाधिवेशनबाट पारित गरेको खण्डमा पार्टी एकताका लागि बहस गर्ने ढोका खुला हुने पनि उनले बताएका थिए ।

















